२० जना किसानलाई उत्पादनमा आधारित अनुदान सहयोग
लमजुङ — लमजुङको बेंसीसहर नगरपालिकाले जनही ८ हजार रुपैयाँसहित ४ जना किसानलाई सोमबार सम्मान गरेको छ ।
कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कार्यालयमै कार्यक्रम आयोजना गरी कृषकलाई सम्मान गरएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरपालिकाले तरकारी खेतीतर्फ बेंसीसहर नगरपालिका– ११ बस्नेत गाउँका सीताराम विक, मौरीपालनतर्फ बेंसीसहर नगरपालिका–६ पुमागाउँका यमबहादुर गुरुङ, भैंसीपालनतर्फ बेंसीसहर नगरपालिका–१० भोटेफाँटका विष्णुमाया अधिकारी र बंगुरपालनतर्फ बेंसीसहर नगरपालिका–६ चनौटेकी लक्ष्मी कामीलाई सम्मान गरेको हो ।
नगरप्रमुख अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल र आर्थिक विकास समितिका संयोजक एवम् वडा नं. ६ का वडा अध्यक्ष प्रकाश थापाले टीका लगाएर दोसल्ला ओढाउनुका साथै नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
यस्तै, नगरपालिकाले २० जना किसानलाई उत्पादनमा आधारित अनुदान दिएको छ । चालु आर्थिक वर्षको कार्यक्रमबाट किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न तरकारीमा प्रतिकिलो ८ रुपैयाँका दरले अनुदान दिएको हो ।
बेंसीसहरमा स्थापना भएको ‘किसान घरमा’ मा किसानले तरकारी बिक्री गरेको आधारमा अनुदान दिइएको नगरपालिका कृषि विकास शाखा प्रमुख ममता अधिकारीले बताइन् । २० जना किसानलाई २७ हजार ४० रुपैयाँ अनुदान सहयोग प्रदान गरिएको उनले बताइन् ।
