नवलपरासी — विभिन्न आपराधिक घटनाका संलग्न रही फरार रहेका सात जना अभियुक्तलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेर अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालका अनुसार जबर्जस्ती करणीदेखि सवारी ज्यान मुद्दासम्मका अभियोगमा दोषी ठहर भएकाहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई जिल्ला अदालत कावासोतीमा पेस गरी सजाय भुक्तानका लागि जेल चलान गरेको नेपालले जानकारी दिए ।
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी कावासोती–३ का ५७ वर्षीय भगवत भट्टराई, लिखित बेइज्जती मुद्दाको फरार प्रतिवादी देवचुलीका सुदन पाठक, चौपाया चोरी मुद्दाको फरार प्रतिवादी देवचुली–५ निवासी ३६ वर्षीय कृष्णबहादुर नेपाली पक्राउ परेका हुन् ।
सवारी ज्यान मुद्दाको फरार प्रतिवादी देवचुलीका भुपाल थापा मगर, लागूऔषध मुद्दामा फरार प्रतिवादी देवचुली–२ निवासी २२ वर्षीय विशाल विक, सवारी ज्यान मुद्दाकै फरार प्रतिवादी विनयी त्रिवेणीका २५ वर्षीय हिराबहादुर गुरुङ र चोरी मुद्दाको फरार प्रतिवादी विनयी त्रिवेणीका विक्रम गुरुङ पक्राउ परेका हुन् । प्रहरीले पछिल्लो केही महिनायता विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेकाहरुलाई खोजी गर्ने र थप सजायका लागि अदालतमा बुझाउने काम अघि बढाउँदै आएको छ ।
