गोरखाबाट ११ करोडको लिची बिक्री

असार २३, २०८२

हरिराम उप्रेती

11 crore litchi sales from Gorkha

गोरखा — यस वर्ष गोरखाबाट ११ करोडको लिची बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष लिचीको उत्पादन राम्रो भएपछि आम्दानी पनि बढेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

गत वर्षको तुलनामा ७.५ प्रतिशतले यो वर्ष उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश वस्ताकोटीले बताए ।

‘अनुकूल मौसम र बगैंचाको राम्रो व्यवस्थापन हुँदा यस वर्ष लिची राम्रो फल्यो,’ उनले भने । पालुङटार नगरपालिका–६ गाइखुर, वडा नम्बर ७ को च्याङली र वडा नम्बर ८ को धुँवाकोटमा व्यावसायिक रूपमा लिचीको खेती हुँदै आएको छ । अहिले किसानले लिची बिक्री लगभग सकेको वस्ताकोटीले बताए ।

‘गत वर्ष १५३ हेक्टर क्षेत्रफलमा एक हजार ५९७ मेट्रिक टन उत्पादन भएको थियो,’ उनले भने,‘यस वर्ष क्षेत्रफल पनि बढेको छ, १५९ हेक्टर क्षेत्रफलको लिचीबाट एक हजार ७१६ मेट्रिक टन लिची उत्पादन भएको छ ।’ औसत प्रतिकेजी ६५ रुपैयाँमा उत्पादित लिची बिक्री भएको उनले बताए । एउटै बोटबाट किसानले ३ देखि ७ हजार सम्म लिची बेचेर आम्दानी गरेका छन् ।

लिची उत्पादन राम्रो भएपछि आम्दानी सन्तोषजनक भएको किसानहरू बताउँछन् । पालुङटार–८ धुँवाकोटका नारायण अर्यालले यस वर्ष लिची बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरे । दुई दशकदेखि लिचीको व्यावसायिक खेती गरेका अर्याल यस वर्ष लिची निकै राम्रो फलेको बताउँछन् ।

‘लिचीलाई पानी पनि खडेरी पनि चाहिँदो रहेछ, यो वर्ष मौसम अनुकूल भयो, असिनाले नोक्सानी पनि गरेन,’ उनले भने,‘दाना राम्रा र रसिलो थियो,  सबै किसान यस वर्ष खुसी छन् ।’ घैया, मकै लगाउने बारीमा यस क्षेत्रका किसानले तिन दशक देखि लिची लगाउन थालेको उनले बताए । ‘घैया, मकै भन्दा लिचीबाट धेरै राम्रो आम्दानी हुन्छ, लिची खेती हुन्छ भनेर बुझेपछि धेरै किसानले अहिले लगाएका छन्,’ उनले भने ।

अर्यालको दुई सय ५० बोट लिचीको बगैँचा छ । फुल फुले देखि नै व्यापारीहरू बगैँचा ठेक्कामा लिन आउने भएकाले लिची उत्पादन हुन सके बिक्रीको पिरलो नरहेको उनले बताए । ‘धेरै जसो किसानले फागुन तिरै लिचीका बगैँचा नै ठेक्का दिएर बिक्री गर्छन्,’ उनले भने । यस वर्ष प्रतिकेजी ६५, ७० देखि १०० रुपैयाँ सम्ममा लिची बिक्री भएको उनले सुनाए । पृथ्वीराजमार्ग नजिकै रहेकाले पनि लिची बिक्रीको समस्या नरहेको किसानहरू बताउँछन् ।

यहाँको लिची काठमाडौँ, पोखरा, दमौली, डुम्रे लगायतका बजारमा बिक्री हुने गरेको छ । यस क्षेत्रमा ५/७  बोट भएका किसानले सिजनका बेला कम्तीमा पनि २० हजार सम्म कमाइ गरेको किसान बताउँछन् । कम लगानी र थोरै मेहनतबाट पनि आम्दानी राम्रो हुने भएपछि यस क्षेत्रका किसान लिची खेतीमा आकर्षित बनेका हुन् ।

२०३० सालमा परीक्षणको रूपमा लगाइएको लिची फस्टाएपछि किसानले यस क्षेत्रमा लिची खेतीलाई व्यावसायिक बनाएका छन् । लिचीका बिरुवा जोगाउन प्रत्येक वडामा नर्सरी पनि स्थापना भएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully