विनयी खोलाको पक्की पुलबाट यातायात सञ्चालन

असार १९, २०८२

नारायण शर्मा

Traffic operation through the concrete bridge over Vinayi river

नवलपरासी — पूर्वी नवलपरासी अन्तर्गत दुम्कीवासस्थित विनयी खोलामा नव निर्मित पुलबाट बिहीवारदेखि यातायात सञ्चालन भएको छ ।

बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालका अनुसार केही बेरअघिबाट विनयीको पक्की पुलबाट यातायात सञ्चालन भएको छ ।

यो पुलबाट एक पटकमा ४० टनमात्र मालसामान ढुवानी हुन सक्ने उनले सुनाए । विनयीको पक्की पुलबाट यातायात सञ्चालन भएपछि मालबाहक गाडी समेत यहि पुल हुँदै वारपार गरेका छन् । बिहीवारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ ।

गत पुस २६ गते विनयीमा रहेको फलामे पुल भाँच्चिएपछि यहाँबाट ओहोर–दोहोर गर्ने मालबाहक गाडीलाई डाइभर्सनबाट पालैपालो आउजाउ गराइँदै आएको थियो । बिहीवारबाट सोझै विनयी पुलबाट सबै गाडी बर्दघाट दुम्कीवास ओहोर–दोहोर गर्न सघाउ पुगेको छ ।

यो पुल कटेर गाडी हिँडे पनि सामान्य वर्षा हुनासाथ दाउन्नेमा भैरहने जामको पिरलो भने उस्तै छ । बर्दघाट दुम्कीवासबीचको १४ किलोमिटर सडक खण्डमा दाउन्ने पर्दछ । त्यसमध्ये पश्चिम (बर्दघाटतर्फको ३ किलोमिटर सडक) कालोपत्रे भैसकेको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully