लमजुङ-मनाङ सडकमा रातको समयमा सवारी सञ्चालनमा रोक

असार १८, २०८२

आश गुरुङ

No traffic on Lamjung-Manang road at night

लमजुङ — जिल्ला प्रशासन कार्यालय मनाङले माथिल्लो मनाङको मुख्य सडक चामे–खाङसार र बेंसीसहर–चामे सडकखण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

वर्षाका कारण हुन सक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार केही दिनअघि मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिबीच अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकबाट गरिएको निर्णयअनुसार असार २० गतेदेखि राति सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । रातिदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको उनले जानकारी दिए।

वर्षातका कारण विपद्‌को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेंसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

No traffic on Lamjung-Manang road at nightसहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेदेखि मनाङ सदरमुकाम चामेसम्म साँझ साढे ६ बजेपछि सवारी छुट्न रोक लगाइएको छ। चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेंसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारी साधन नासों गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्नेछ ।

त्यस्तै, लमजुङबाट मनाङतर्फ जाने सवारी साधन मर्स्याङ्दी गाउँपालिका–४, जगतबाट तालडाँडा हुँदै मनाङ प्रवेश बेलुका ७ बजेभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ । बिहान ६ बजेपछि भने सवारी सञ्चालन खुला गरिएको प्रशासनले जनाएको छ ।

सुरक्षा निकाय, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधनको हकमा तत्कालीन परिस्थिति विश्लेषण गरी जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा औचित्यको आधारमा सञ्चालनको व्यवस्था मिलाइने प्रशासनले जनाएको छ ।

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकखण्डमा वर्षायाममा हरेक वर्ष बाढी र पहिरोका घटना हुने गरेकाले जोखिम विश्लेषणपछि अवस्था सामान्य भएसँगै सवारी सञ्चालनमा आवश्यक व्यवस्था मिलाइने जनाइएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully