लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

असार १८, २०८२

आश गुरुङ

Driver killed in tractor accident in Lamjung

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका–४, तिलार चोकनजिकै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लमजुङको भोर्लेटार र तनहुँको दमौली जोड्ने भोर्लेटार–दमौली सडक खण्डमा पर्ने उक्त ठाउँमा ग१त ७६३७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ बुधबार बिहान ९ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लमजुङको दुइपिप्लेबाट भोर्लेटारतर्फ जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भइ अन्दाजी १० मिटर तल खस्दा बागलुङको काठेखोला गाउँपालिका–७ घर भइ हाल कास्कीको रुपा गाउँपालिका–३, पोल्याङ बस्दै आएका १९ वर्षीय आयुषमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर दुर्घटना भएको र ट्र्याक्टरले च्यापिएर चालक गम्भीर घाइते भएको जानकारी पाएपछि प्रहरी खटिएको र प्रहरीसहित स्थानीयले उद्धार गरेर उपचारको लागि दमौली अस्पताल तनहुँ पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर खाली थियो । चालकमात्रै रहेको उक्त ट्र्याक्टर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully