गैरकानुनी काममा जाँदा कोही घाइते, कोही हिंसामा

असार १७, २०८२

प्रकाश बराल

Some are injured while going to illegal work, some in violence

बागलुङ — पर्यटक भिसामा ओमान गएकी यहाँकी एक महिला घरेलु कामदारको रूपमा बसिन्। गैरकानुनी रूपमा कामदार बसेपछि उनी हिंसामा परिन् र धेरै दुःख पाइन्। सहारा नपाएपछि उनले बागलुङस्थित आप्रवासी स्रोत केन्द्रमा खबर पठाइन्।

केन्द्रले दूतावासमा सम्पर्क गरेपछि उद्धार गरी नेपाल फर्काइएको हो। पर्यटक भिसामा गएकी भएकाले उनले काम गरेको पैसा पाइनन्, पीडकलाई कारबाही गर्ने अवसर पनि मिलेन। हिंसाका कारण ज्यानै जोखिममा परेकी ती महिलालाई सकुशल नेपाल फर्काउन केन्द्र सफल भएको छ।

तर उनको घरको अवस्था भने कमजोर छ। पतिले कोरिया गएर लामो समय पैसा नपठाएको र अर्को विवाह गरेपछि काम गर्ने लक्ष्यले उनी ओमान गएकी थिइन्। श्रम सम्झौता नगरेकी र पर्यटक भिसामा गएकी भएकाले राज्यबाट पनि पहल गर्न सकिएको थिएन। अहिले उनी सहयोगको खोजी गर्दै बालबालिका हुर्काउन बाध्य छिन्।

तमानखोलाका एक युवा १८ वर्षअघि बहराइन गएका थिए। लामो समयसम्म घरमा सम्पर्कमा नरहेका ती युवा अहिले उतै सकिस्त बिरामी छन्। नेपालमा ल्याउन मात्रै १४ लाखभन्दा बढी खर्च लाग्ने अवस्था छ। घरमा अपाङ्ग बाबु मात्रै छन्। नेपालमा ल्याएपछि पनि उपचार गर्न सक्ने अवस्थामा परिवार छैन। यो समस्याको समाधान गरिदिन पीडित बाबुले राज्यको ध्यानाकर्षण गराएका छन्। पर्यटक भिसामा गएका ती युवालाई गैरकानुनी बसोबास भएकै कारण केन्द्रले चाहेर पनि उद्धार गर्न सकेको छैन। उल्टै खर्च गरेर बिरामी नेपाल ल्याउनुपर्ने बाध्यता बनेको छ।

गैरकानुनी रूपमा विदेश जाने र गैरकानुनी काम गर्नेहरूको सङ्ख्या बढ्दो छ। गैरकानुनी काम गर्दा अप्ठ्यारोमा परेपछि मात्र उनीहरूले सहयोगको खोजी गर्ने गरेका छन्। सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मीनप्रसाद उपाध्यायका अनुसार गैरकानुनी रूपमा विदेश गएका धेरै मानिस अप्ठ्यारोमा परेका छन्। 'कतिपयले उतै ज्यान गुमाएका छन्, कोही घाइते भएका छन्,' उपाध्यायले भने, 'प्रक्रिया नपुगेकाले क्षतिपूर्ति, राहत र बिमा केही नभएकाहरूको उद्धार गर्न गाह्रो परेको छ।'

केन्द्रको तथ्याङ्क अनुसार चालु वर्ष गैरकानुनी रूपमा विदेश गएका बागलुङकै मात्रै ७ जनाको मृत्यु भएको छ। १० जना श्रम स्वीकृति प्राप्त गरिसकेका कामदारको पनि ज्यान गएको छ। तीमध्ये एक जना महिला पनि रहेकी छन्।

प्रक्रिया पूरा भएकाहरूको शव समयमा ल्याएर परिवारलाई राहत र क्षतिपूर्ति दिलाउन सकिए पनि प्रक्रिया नपुगेकालाई केही गर्न नसकेको केन्द्रकी परामर्शदाता गंगाकुमारी शर्माले बताइन्। 'हामीले राहदानी बनाउन आएका हरेक नागरिकलाई परामर्श गराएका छौं, तर गैरकानुनी रूपमा जानेहरूको ज्यानै जोखिममा परेको छ,' शर्माले भनिन्, 'दूतावासका कर्मचारीले साथ दिएमा केहीको उद्धार गर्न सकिएको छ, बाँकीको थप समस्या बल्झिएको छ।'

शर्माका अनुसार चालु वर्ष बागलुङका १३८ जना समस्यामा परेका कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको हो। तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने भन्दै लाखौँ रुपैयाँ ठगिएका छन्।

आव २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीमा मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये अधिकांश ४० वर्षभन्दा कम उमेरका थिए। सबैभन्दा बढी मृत्यु साउदी अरेबियामा भएको छ।

त्यस आवमै बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १५६ जना विभिन्न समस्यामा परेका थिए। तीमध्ये १३७ पुरुष र १९ महिला पीडित थिए। विदेश जाँदा समस्यामा नपरोस् भनेर केन्द्रले नियमित परामर्श सेवा दिँदै आएको छ। चालु वर्ष पनि ८ हजार ७ सय ७० जनालाई परामर्श दिएको उपाध्यायले जानकारी दिए।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully