बागलुङ — जिल्ला सदरमुकामको भित्री गल्लीमा एउटा सानो पसलभित्र ८ वटा सिलाइ मेसिन राखिएका छन् । ३७ वर्षीया लक्ष्मी श्रेष्ठले आवश्यकताअनुसार फरक–फरक मेसिन चलाएर काम गरिरहेकी हुन्छिन् ।
पसलमा उनी एक्ली कामदार हुन् । बरु हरेक दिन उनको पसलमा १०/१५ जना महिला सिलाइ सिक्न आउने गर्छन् । भाडाको छानो छाप्रोमा धेरैलाई काम सिकाउन पनि नसकिने भएर उनले त्यसभन्दा धेरैलाई बोलाएकी छैनन् । दैनिक १२/१४ घण्टा आफैं काम गरेर उनले सफलताको उदाहरण दिएकी छिन् ।
काठेखोला गाउँपालिका–८ लेखानीमा जन्मेर सदरमुकाममा बस्दै आएकी श्रेष्ठको मिहिनेत र साहसको कथा बेग्लै छ । त्यही साहसले उनले शून्य अवस्थाबाट व्यवसायी बनेर देखाउन सफल भएकी छिन् ।
पढ्दा–पढ्दै अन्तरजातीय विवाह गरेर श्रेष्ठ नेपालगन्ज पुगिन् । पतिको सानो रोजगारीका सिलसिलामा उनीहरू फेरि बागलुङ नै फर्किए । दुई सन्तान जन्मेलगत्तै एकाएक पति बिरामी परे । ५ वर्षसम्म उपचारमा जुट्नु पर्यो । काम गर्न नसकेपछि पतिको निजी क्षेत्रको जागिर रहेन । निरन्तर उपचारमा खर्च गर्नुपर्ने र भएको रोजगारी गुमेपछि आर्थिक अवस्था कमजोर भयो । २०७० ताका उनले धेरै दुःख पाइन् । ऋण खोजेर उपचार गराइन् । खानेबस्ने र दुई छोरा पढाउने चुनौतीले श्रेष्ठलाई पिरोल्न थाल्यो । उनी सीप सिकेर स्वरोजगार बन्ने उपायको खोजीमा लागिन् ।
अन्तरजातीय (नेवार समुदायकी लक्ष्मीले क्षेत्री समुदायको युवकसित) विवाह गरेकाले घर र माइतीमा उस्तो राम्रो सम्बन्ध नहुँदा आफैं संघर्ष गरेर आत्मनिर्भर बन्नेबाहेक उपाय थिएन । ऋण खोजेर उनले ६ महिनाको सिलाइ तालिम लिइन् । त्यसबाट उनले मेसिन किनेर सिलाउने निधो गरिन् । मेसिन किन्ने पैसा नभएपछि केही समय सहकारीको बजार प्रतिनिधि भएर पनि काम गरिन् । त्यो कामले पाएको तबलबाट उनले सिलाइ मेसिन किनिन् । त्यसपछि भने सहकारीमा एक महिना पहिला सूचना दिएर जागिर छाडिन् ।
लक्ष्मीलाई सिलाइकटाइ गरेर कमाइ गर्ने, पति बिरामी पर्दाको ऋण तिर्ने, छोराहरू पढाउने धोको थियो । ऋण र सहयोग माग्ने कोही नभएकाले उनले एक्लै धेरै मिहिनेत गरेपछि कमाइ हुन थाल्यो । बजारमा महँगो सटर भाडामा लिएर काम गर्दा नाफा निकाल्न नसकेपछि उनले भित्री गल्लीमा डेरा सारिन् । दैनिक १२ देखि १४ घण्टासम्म काम गरेर उनले केही पैसा जोडेपछि बल्ल उनको हिम्मत आयो । बजारमा पुगेर अर्डर लिने र तोकेकै समयमा कपडा सिलाइदिने गरेपछि लक्ष्मीलाई धेरैले विश्वास गर्न थाले ।
समयअनुसार फेसनका कपडा सिलाउनु पर्ने भएपछि एउटा मेसिनले पुग्न छाड्यो । उनले थप मेसिनको जोहो गर्न खोजिन् । त्यतिबेला भने स्थानीय सामाजिक अगुवा केबी रानामगरले ऋण सहयोग गरे । रानाले संचालन गरेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डीआईआरडीसी) मार्फत लक्ष्मीलाई बिनाधितो ५ लाख रुपैयाँ मेसिन किन्ने र व्यवसाय बढाउने बीउ पुँजी दिए । उनले त्यो ऋण किस्ताबन्दीमा तिरिसकिन् । रानामगरले उनलाई थप तालिममा बोलाए । त्यहीँ लिएको तालिमपछि २०७५ सालमा लक्ष्मीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को लेबल १ परीक्षा पास गरिन् ।
नगरपालिका र घरेलु उद्योग कार्यालयमा व्यवसाय दर्ता पनि गरिन् । त्यसपछि उनले चाहे अनुसारका फरक–फरक मेसिन र सामग्री किनेर व्यवसाय बढाउन थालिन् । लक्ष्मीले अहिले १ इन्टरलक मेसिन, १ पिको मेसिन र ६ वटा विभिन्न प्रकृतिका मेसिन राखेर व्यवसायलाई अघि बढाएकी छिन् । अहिले पनि उनको पसल झट्ट देखिंदैन ।
बागलुङ नगरपालिका–१ को रामरेखामा भित्री गल्लीमा उनी बस्छिन् । अहिले उनलाई फोन गरेर अर्डर दिने र पसल खोज्दै ग्राहक पसलसम्म पुग्छन् । नयाँ खालको मेसिन आयो भने उनलाई किन्न मन लाग्छ । ‘मलाई मेरो मेसिन नै भगवान् हो भन्ने लाग्छ, त्यसैले १५ वर्षअघिको पनि बेचेकी छैन, आधुनिक पनि चलाइरहेकी छु,’ उनले भनिन्, ‘मलाई जुन मेसिनले चिनायो, त्यसलाई बेच्ने हैन, सदुपयोग गरिरहन्छु ।’
अहिले त लक्ष्मीले धेरै दिदीबहिनीलाई सिलाइ सिकाउँछिन् । डीआईआरडीसीले पनि लक्ष्मीलाई प्रशिक्षकका रूपमा बोलाउने गरेको छ । समय मिलाएर उनी त्यहाँ पनि पुग्छिन् ।
अहिले लक्ष्मी घरखर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाउन सक्ने भएकी छिन् । सिलाइबाटै उनले समृद्धिको सपना देखेको बताइन् । ‘छोराहरू पढाएर घरखर्च पनि चलाएकै छु, मासिक ४०/५० हजार कमाउन पनि सकेकी छु,’ उनले भनिन्, ‘मिहिनेत गर्न सकियो भने दुःखलाई जित्न सकिने रहेछ ।’ अहिले त उनका पति भीमसेन जीसी पनि रोगलाई परास्त गरी निको भएका छन् ।
उनको उमेरका धेरै साथी विदेश उड्दा उनी कहिले निराश बन्थिन् । अहिले भने विदेशमा बस्नेको भन्दा राम्रो कमाइ र प्रतिष्ठा पाएको उनले बताइन् । विदेशमा भएका घटना र फर्केपछि सीप अभावले फेरि बेरोजगार बन्ने अवस्था आउँदा धेरै युवामा मानसिक समस्या आएको उनले बताइन् । ‘विदेश गएर फर्केपछि के काम गर्ने भन्ने अन्योल छ,’ लक्ष्मीले भनिन्, ‘मेरो भने बाँचुन्जेललाई सीप र पेसा बनिसकेको छ ।’
घर धान्ने जिम्मेवारीले व्यवसायीसँगै प्रशिक्षक बनेकी लक्ष्मी अहिले बागलुङमा धेरैका लागि प्रेरणाकी स्रोत पनि बनिरहेकी छन् ।
