पर्वतमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु

असार १५, २०८२

सुमनजंग थापा

One person died in a jeep accident in the mountains

पर्वत — जिल्लाको फलेवास नगरपालिका–८ ठानामौलामा शनिबार राति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ठानामौलास्थित समिनधारा नेपानेमा ध १ ज ६९७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

दुर्घटनमा परेर गम्भीर घाइते भएका ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो । गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए ।

नेपानेस्थित लमायखोलाबाट फलामखानी तर्फ जाँदै गरेका जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बताए । उनका अनुसार चालक फलेवास नगरपालिका–७ लिमिठानाका ३४ वर्षीय विक्रम सुनार र अर्का यात्रु सोही नगरपालिका–८ ठानामौलाका ३३ वर्षीय सुरज विश्वकर्मा घाइते भएका छन् ।

दुर्घटनामा परी हराइरहेका ४१ वर्षीय मनबहादुर विकलाई आइबार बिहान स्थानीयको गोठबाट उद्धार गरिएको छ । अहिले उनको उपचारका लागि कुश्मा ल्याइएको प्रहरीले जनाएको छ ।

घाइतेको प्रदेश अस्पताल, पर्वतमा प्राथामिक उपचारपछि गण्डकी मेडिकल कलेज पोखरामा थप उपचार भइरहेको छ । दुर्घटना भएको जिप सडकबाट १ सय ५० मिटर तल खसेका थियो । जिप दुर्घटनाको खबर पाएपछि फलेवास प्रहरी चौकीबाट प्रहरीहरु पुगेर घाइतेको उद्धार गरी प्रदेश अस्पताल पर्वतमा पुर्‍याएको सूचना अधिकारी प्रहरी निरीक्षक सापकोटाले बताए ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully