पूर्वी नवलपरासी — वर्षाले अवरुद्ध भएको दाउन्ने सडकखण्डमा साना सवारी साधन सञ्चालनमा आएका छन् । आइतबार बिहानको वर्षापछि दाउन्नेमा गाडी फसेर दिउँसो १२ बजेदेखि यातायात ठप्प भएको थियो ।
वर्षा रोकिएपछि अहिले साना गाडी र यात्रुवाहक बसहरू चल्न थालेका छन् । त्यहाँ फसेका गाडी निकालेर मालवाहक ट्रक र लरी आउजाउमा रोक लगाएर साना गाडी सञ्चालनमा ल्याइएको हो ।
पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका सबै मालवाहक गाडी दुम्कीबास र बर्दघाटमा रोकिएपछि साना गाडी र बसहरू सञ्चालनमा आएका हुन्। ढकालका अनुसार आइतबार दिउँसो साढे ३ बजेदेखि त्यहाँ यातायात सञ्चालन भएको हो।
पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा पर्ने १४ किलोमिटर लामो दाउन्ने सडकमा वर्षा हुनासाथ हिलो लागेर गाडी फस्ने र यातायात ठप्प हुने समस्या दिनहुँजसो दोहोरिइरहेको छ ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्ग स्तरोन्नतिको काम जिम्मा लिए पनि ६ वर्षसम्म सडक स्तरोन्नति पूरा गर्न सकेको छैन ।
