स्याङ्जा — असार १५ गते गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार असार १५ गतेसम्म गण्डकी प्रदेशका ९ जिल्लामा रोपाइँ धमाधम भएको हो ।
हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती गरिँदैन । गण्डकी प्रदेशमा ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिन भएपनि ९४ हजार १ सय ८२ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान कृषि मन्त्रालयको छ । गत वर्ष ९६ हजार हेक्टर जमिनमा धान लगाइएको थियो ।
गण्डकी प्रदेशको मुख्य खाद्यबाली अन्तर्गत धान खेती पर्छ । गोरखाको खेतीयोग्य जमिन ५५ हजार ६ सय ६९ भएपनि हालसम्म एक हजार ५५ हेक्टर अर्थात् १०.४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसैगरी लमजुङको खेतीयोग्य जमिन ६१ हजार ८ सय १९ हेक्टर रहेको छ । जसमध्ये ३४.१६ प्रतिशत अर्थात् ३ हजार एक सय ७७ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका अनुसार तनहुँमा खेतीयोग्य जमिन ६५ हजार ६१ रहेकोमा एक हजार ६ सय २३ हेक्टर अर्थात् १८.६१ प्रतिशत, कास्कीमा खेतीयोग्य ६८ हजार ९ सय ६७ हेक्टर जमिनमध्ये ६ हजार ९ सय ९५ अर्थात् ४३.१३ प्रतिशत, पर्वतमा २८ हजार ५ सय ९२ हेक्टर जमिनमध्ये एक हजार ७ सय ९५ अर्थात् २५ प्रतिशत, स्याङ्जा ७२ हजार ७ सय ३१ हेक्टर जमिनमध्ये २६ सय अर्थात् १८.७, म्याग्दी ३० हजार ८ सय ५६ हेक्टर जमिनमध्ये एक हजार ३ सय २० अर्थात् ३४.६८ प्रतिशत, बागलुङको ४६ हजार १ सय ४८ हेक्टरमध्ये २ हजार ५ सय ६८ अर्थात् ४५ प्रतिशत र पूर्वी नवलपरासी ४९ हजार ७ सय ४७ हेक्टर जमिनमध्ये हालसम्म ५ हजार ४ सय २९ हेक्टर अर्थात् २९ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए ।
गण्डकी प्रदेशभरि उन्नत, स्थानीय र वर्णशंकर (हाइब्रेड) गरी तीन तहको धान लगाइन्छ । गण्डकीमा सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा ३, महाराजा, च्याम्पियन, युस–३१२, स्थानीय, सावा मन्सुली, मकवानपुर–१, युएस–३१२, जेठोबुढो, पहेले, गुर्दि, एक्ले, खुमल–४,१०, गौरिया, बयर्नी, सेता र लामो झिनुवा, मार्सी, बिरिमफूल, कालो र टुँडे झिनुवा, पोखरेली जुठो बुढो, गुडुरा, जर्नेली, हर्दिनाथ–६, ताइचुङ र अनदी जातको धान रोप्ने गरिन्छ । पोखरा लगायत गण्डकी प्रदेशका सबै स्थानीय तह, विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनले समेत धान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
गण्डकीका ९ जिल्लामध्ये गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुलखोला, आरुघाट, ध्याल्चोक, सिरानचोक, ध्याम्पेसाललाई धान खेतीको पकेट क्षेत्र मानिन्छ ।
यस्तै, लमजुङमा क्व्होलासोथार, दोर्दी, दुधपोखरी, मस्र्याङदी गापा, बेसीशहर नपा, रामचोकफाँट, दनाइफाँट, मध्यनेपाल, सुन्दरबजार, राइनास नपा, तनहुँमा भानु, व्यास, भिमाद, शुक्लागण्डकी नपा, म्याग्दे, वन्दीपुर, आवुँखैरेनी, पर्वतमा फलेवास, सिमखेत, साझाखेत, पुरानो पधेरो, कुर्गा, शंखर पोखरी, पैय, मर्दीखोला, कुश्मा, जलजला, फर्से, विहादी, महाशिला र कास्कीमा मादी, रुपा, माछापुच्र्छे, अन्नपूर्ण गापा र महानगरअन्तर्गत लाहाचोक, घाचोक, सेराचौर सल्यान, लेखनाथ, पामे, आर्वा, स्याङ्जामा पुतलीबजार, वालिङ, गल्याङ र चापाकोट नपा, फेदीखोला, अर्जुनचौपारी, आँधीखाला गापा, बागलुङमा गलकोट, निसीखोला, बडिगाड र जैमिनी, म्याग्दीमा रत्नेचौर, ज्यामरुककोट, अर्थुङगे, पुलाचौर, सिंगा, बरंजा, बाबियाचौर, कुहूँ, अर्मन, दर्वाङ, ताकम, घतान, पात्लेखेत, राखु, शिख, घार, भुरुङ तातोपानी, नारच्याङ, दाना र पित्ले, नवलपुरमा कावासोती, मध्यविन्दु, गैँडाकोट, विनयीत्रिवेणी, देवचुली र हुप्सेकोट धान उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।
आइतबार बिहानदेखि दिउँसो वर्षा भए पनि स्याङ्जा, कास्कीका किसान १५ असारका दिन खुसीयाली साटासाट गर्दै राष्ट्रिय धान दिवस मनाएका छन् । लामो खडेरीपछि केही दिनयता परेको वर्षाका कारण किसान खेतमा व्यस्त भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीका प्रमुख माधवप्रसाद लम्सालले यस वर्ष किसानलाई वर्षाले साथ दिएको बताए । धान दिवस राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको बताउँदै उनले किसानलाई रमाइलोसँगै मल, बिउबिजनमा पनि सहयोग गरिएको बताए । ‘धान दिवस मनाइरहँदा किसानको समस्याका विषयमा पनि छलफल हुनुपर्छ,’ लम्सालले बताए ।
धान दिवसका अवसरमा महिला पुरुष हिले दौड, उत्कृष्ट रोपाइँ, डोरी तान्ने, माछा छोप्ने लगायतका खेल सम्पन्न भएका छन् । पुरस्कृत हुनेलाई पुरस्कार वितरण गरिएको थियो । रोपाइँ महोत्सवमा सहभागी किसानले मलको समस्या रहेको बताएका थिए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् ।
नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका– १४ को समन्वयमा खाल्टे मसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । ‘धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात् गर्दै कृषि पेसाप्रति सम्मान र प्रवर्द्धन गर्न आवश्यक छ,’ उनले भने ।
