थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

असार १४, २०८२

रासस

Thorangla pass cleaning, 65 sacks of garbage collected

मनाङ — विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो । 

यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार नकुहिने फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । 

उनले भने, “यस पदमार्ग विश्व प्रसिद्ध भएकाले अधिकांश बाह्य पर्यटकको आगमन बढी हुन्छ । तर, नकुहिने फोहरमैला बढी हुँदा दुर्गन्धित बन्ने खतरामा रहेको छ । नकुहिने फोहरजन्य पदार्थ लगिए पनि साथमा नै ल्याउनुपर्ने प्रावधान राखिएको छ । तर, उपयोग भएको पाइएको छैन ।” वर्षौँसम्म नष्ट नहुने फोहरले जलवायु परिवर्तनमा समेत प्रभाव पारेको उनको भनाइ छ । 

सो क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङले जनाएको छ । बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । 

रासस

Link copied successfully