जैमिनीमा आमा समूह सम्मेलन

असार १४, २०८२

प्रकाश बराल

Mother's Group Conference at Jaimini

बागलुङ — जैमिनी नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको आमा समूह सम्मेलनले समाजमा विभेद अन्त्य, मेलामिलप कायम र दुर्व्यसनविरुद्ध अभियान संचालन गर्ने निष्कर्ष निकालेको छ ।

शनिबार जैमिनीमा भएको सम्मेलनले समुदायस्तरमा लागूऔषधको दुरुपयोग रोक्ने, जुवातास र मादक पदार्थ सेवनलाई नियन्त्रण गर्ने, बालविवाह, बहुविवाह, दाइजो प्रथा र जातीय भेद्भाव पूर्ण रुपमा अन्त्य गर्ने समेत निर्णय गरेको छ । युवा पुस्तामा बढेको दुर्व्यसन रोक्ने र सामाजिक कुरीति नियन्त्रणका लागि समाजका सबैजना एकजुट भइ चेतनामूलक कार्यक्रममा जुट्ने गरी सम्मेलनले ११ बुँदे घोषणपत्र पनि जारी गरेको छ । 

विकास र न्यायका लागि सबै तहमा महिला सहभागिताको सुनिश्चिता, पहुँच विस्तार र घरदेखि सहरसम्म समान कामको समान ज्याला कायम गराउने प्रतिबद्धतासमेत घोषणापत्रमा उल्लेख छ । 

नगर उपप्रमुख हरिहर शर्मा, आमा समूहहरुको तर्फबाट जैमिनी ७ को जैदी आमा समूहकी अध्यक्ष कलाबती राना र ज्येष्ठ मेलमिलापकर्ता गोपालप्रसाद शर्माको हस्ताक्षरमा घोषणापत्र जारी भएको हो । अपांग, महिला, दलित र पछाडि पारिएका समुदायको हक र न्यायका लागि सबैले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाउने पनि घोषणापत्रमा उल्लेख छ । 

Mother's Group Conference at Jaimini

सम्मेलनमा उच्च अदालत बागलुङका मुख्य न्यायाधीश नातीबाबु लामिछाने, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेल, वरिष्ठ अधिवक्ता तथा मेलमिलाप अभियन्ता कुमार आचार्य र अधिवक्ता तथा महिला अधिकारकर्मी गीता श्रीषले सहजीकरण गर्दै आमा समूहलाई समाजको पहिलो उत्तरदायी नागरिक बनाउन प्रयास गर्ने बताए । ‘समाजमा हुने स-साना झैझगडा र विवादको मूल कुरा थाह पाउने नै आमा समूह हो, उनीहरुलाई मेलमिलापकर्ता बनाएमा न्याए छिटो पाइने र समाजमा शान्ति स्थापना गर्न सकिन्छ,’ उनले भने, ‘संघीयताले सबै विषयमा अदालत जाने पद्धतिको अन्त्य गरेको छ ।’ 

आर्थिक व्ययभार र अदालतमा मुद्दाको चाप घटाउन स्थानीय तहमा न्यायिक समिति र समुदाय तहमा मेलमिलाप केन्द्रको अवधारणा आएको समेत आचार्यको भनाइ छ । गाउँमा मेलमिलाप गर्दा खर्च नलाग्ने, ठूला विवाद र झगडा हुने दर घट्ने, समाजलाई अपराधमुक्त बनाउन सकिने पुनले बताए । 

‘पहिला भलाद्मीले विवाद मिलाउँथे, अहिले गाउँमा आमा समूहले नै विवाद समाधान गर्न सक्छन्,’ उनले भने, ‘पुरुषहरु गाउँमा काम छन्, महिलाहरु सशक्तीकरण भएमा समाजलाई बदल्न पनि महिला नै सक्षम हुनेछन् ।’ 

सम्मेलनले न्याय सम्पादन र विवाद निरुपणका लागि मेलमिलापलाई प्रभावकारी बनाउने समेत निष्कर्ष निकालेको छ । सम्मेलनमा १ सय ७२ आमा समूहका अध्यक्ष र प्रतिनिधिसमेत सहभागी थिए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully