मेयरले भाइको 'इभेन्ट सेन्टर'मा राखे अन्तर्किया, नगरसभा सदस्यको बहिष्कार

असार १४, २०८२

अनुप पौडेल

Mayor held Bhai's 'Event Center' in Antarkia, boycott of Municipal Councilors

कास्की — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा पारिवारिक स्वामित्वको इभेन्ट सेन्टरमा छलफल बोलाएका छन् ।

शनिबार दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्मका लागि पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र नगर सभा सदस्यबीच अन्तर्किया राखिएको हो । नगरसभा सदस्यलाई पठाइएको म्यासेजमा अन्तर्क्रियाको विषयवस्तु खुलाइएको छैन । तर, महानगरको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल सुरु गर्नुअघि यो कार्यक्रम राखिएको हो । नीति तथा कार्यक्रम र बजेटमाथि १७ औं नगरसभाको सोमबारको बैठकमा छलफल सुरु हुँदै छ ।

यो इभेन्ट सेन्टर मेयरका सहोदर भाइ शिव आचार्यको हो । भाइको स्वामित्वमा रहेको इभेन्ट सेन्टरमा अन्तर्क्रिया राखेपछि ४ जना नगरसभा सदस्यले बहिष्कार गरेका छन् । नगरसभा सदस्य पोखरा-४ का प्रकाश कोइराला, पोखरा-१० का पूर्णचन्द्र न्यौपाने, पोखरा-११ का सुशील बास्तोला र पोखरा-३३ का प्रकाश कार्कीले उक्त अन्तर्क्रिया बहिष्कार गरेका हुन् । फेसबुकमार्फत उनीहरुले ३ बुँदे असहमति व्यक्त गर्दै उक्त अन्तर्क्रिया बहिष्कार गरेका हुन् ।

पोखरा महानगरपालिकाको कार्यालय र नगरसभा हल बाहिर निजी स्थलमा नगर सभा प्रकृतिका कार्यक्रम आयोजना गरिनु गम्भीर प्रक्रियागत त्रुटि भएको, कारण नखुलाई निमन्त्रणा गरेर निर्णय प्रक्रियामा सीमित भूमिका दिनु अलोकतान्त्रिक अभ्यास भएको र नगरसभासम्बन्धी कुनै पनि बैठक, छलफल, अन्तर्क्रिया वा निर्णय प्रक्रिया नगरसभा हल वा महानगरको आधिकारिक स्थलमै गर्नुपर्ने उनीहरुको माग छ ।

मेयर आचार्यले महानगर र व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को सभा हलमा सबै जना नअट्ने भएकाले बाहिर अन्तर्किया राखिएको बताए । नगरसभा सदस्य पूर्ण न्यौपानेले फेसबुकमा राखेको स्टाटसमा प्रतिक्रिया दिँदै उनले सभागृहमा नभई सबै सदस्य एक-अर्कासँग राउण्डमा बसेर स्वतन्त्र रूपमा छलफल गराउने उद्देश्यले बाहिर अन्तर्क्रिया राखिएको बताए ।

अनौपचारिक छलफल भएको भन्दै मेयर आचार्यले सरकारी खर्च, ब्यानरको प्रयोग र निश्चित एजेन्डा नहुने उनले जिकिर गरे  । `तपाईंहरूले नगरसभाको औपचारिक सत्रअघि राख्न चाहनुभएको जिज्ञासा तथा सुझावहरूलाई ध्यानमा राख्दै यो छलफलको आयोजना गरिएको हो,´ उनले लेखेका छन्, `यस बैठकका लागि निश्चित एजेन्डा छैन । तपाईंहरूको जिज्ञासा र सुझाव नै छलफलका विषयवस्तु हुनेछन् ।´

सबैलाई उपस्थिति अनिवार्य नरहेको उनले बताए । छलफल आवश्यक नरहेको ठहर भएमा रद्द गरिने उनको भनाइ छ ।

महानगरपालिकाको १७ औं नगर सभा असार ८ मा पोखरा सभागृहमा सुरु भएको थियो । तर, सभागृहमा छलफल नराखी मेयरले आफ्नै भाइको स्वामित्वको इभेन्ट सेन्टरमा कार्यक्रम राखेका हुन् ।

पछिल्लो एक वर्षदेखि महानगरपालिका, मातहतका महाशाखा, कार्यालय, महनगरपालिकाले सहयोग गरेका कार्यक्रम इभेन्ट सेन्टरमा हुने गरेका छन् । शनिबार पोखरा महानगरपालिका नगर युवा परिषद्को अवार्ड वितरण कार्यक्रम इभेन्ट सेन्टरमै गरिएको छ ।

अनुप पौडेल

Link copied successfully