गोरखा — रोजगारीका लागि भारतमा रहेका श्रीमान् अनिल गुरुङले जेठ २६ गते बिहानै पठाएको भ्वाइस म्यासेजले पालुङटार नगरपालिका–६ उखुबारीकी मुना गुरुङ झस्किइन् । म्यासेजमा भनिएको थियो, ‘बुढी मलाई मार्न लाछ आज, म घर आइपुग्दिन होला, गल्ती भयो माफ गर भन्दा पनि गरेको छैन ।’
अनिलले हतास बोलीका साथ गरेको म्यासेज सुनेर मुना अत्तालिइन् । म्यासेज गरिन्, फोन गरिन् । अनिल त्यसपछि सम्पर्कमै आएनन् । ‘छिनछिनमै फोन आउथ्यो, आज १८ दिन भयो, उहाँ सम्पर्कमै हुनुहुन्न,’ मुनाले भनिन् ।
१० वर्षदेखि रोजगारीका लागि भारतमा रहेका अनिल डेढ महिनाअघि ज्यालादारीमा काम गर्नका लागि भारतको दिल्लीबाट उत्तरप्रदेशको केदारनाथ गएका थिए । उनी केदारनाथबाट स्वदेश फर्कने क्रममा सीतापुर बसपार्कबाट सम्पर्कविहीन बनेको मुनाले बताइन् ।
‘केदारनाथबाट बसपार्कसम्म आएपछि ऋषिकेश र हरिद्वारको बस लाग्दो रहेछ, एकजना साथीले क्याबिनवाला गाडीमा चढाएर पठाउनुभएको रे,’ श्रीमती मुनाले भनिन्, ‘त्यहाँबाट सीतापुर बस स्टेसनसम्म जानुभएको छ, त्यहाँबाट बस चढ्नुभयो कि भएन, त्यहीँबाट सम्पर्कविहिन हुनुभएको हो ।’
नेपाल फर्कंदै गरेका अनिल सीतापुरसम्म आइपुग्दा परिवारको सम्पर्कमा थिए । ‘बस चढ्दा पनि भाइसँग गफ भएको थियो, बीचमै उत्रनुपर्छ कि भनेर पनि भन्नुहुन्थ्यो रे,’ उनले भनिन् ।
श्रीमान्को खोजीका लागि मुना ससुरा पूर्णबहादुर र छिमेकी टीकाबहादुर गुरुङको साथ लागेर एक साताअघि केदारनाथ पुगेकी छिन् । कसै गरे पनि श्रीमान्को अवस्था थाहा पाउन नसकेको उनले गुनासो गरिन् । ‘यहाँको पुलिस भएको ठाउँमा आएका छौं, सीसी क्यामरा पनि हेर्यौं,’ उनले भनिन्, ‘नयाँ ठाउँ भाषा बुझिन्नँ, बसपार्कको सीसी क्यामरामा एक साताको मात्र रेकर्ड हुन्छ भन्नुभयो, जताजता भनेको छ त्यतै पुगेका छौं तर केही खोजखबर पाइएन ।’
अघिल्लो दिनसम्म फोनमा कुरा हुँदा एकजना नेपाली साथीसँग विवाद परेको सुनाएको मुनाले बताइन् । 'त्यही कुराले केही पो भयो कि मनमा त लाग्छ, यसै भन्ने अवस्था पनि छैन,’ उनले भनिन् ।
अनिलको खोजीका भारत पुगेका परिवारका सदस्य भाषा नबुझ्दा मात्र समस्यामा छैनन्, भारतस्थित नेपाली राजदूतावासबाट पनि सहयोग नपाएको गुनासो गर्छन् । ‘नचिनेको ठाउँ हामीले आधार नै पाएनौं, अनिल बसोबास गर्ने केदारनाथको गैरीगुनको हेलिप्याड भन्ने ठाउँमा पुग्न पनि हामीलाई डर छ, त्यहीँ बस्दा एकजना सँग दुस्मनी थियो भन्ने सुनेका थियौ,’ अनिलको खोजीमा भारत पुगेका टीकाबहादुरले भने । भारतस्थित नेपाली राजदूतावासबाट पनि खोजीका लागि सहयोग भए आधार हुने उनी बताउँछन् ।
‘अस्ति दूतावासको भनेर एकजना मान्छे सम्पर्कमा आउनुभएको थियो, एक दिन एक रात लाएर ठुलो आशा बोकेर दिल्ली पुग्यौं, त्यसपछि एकले अर्कोको नम्बर गर्दै तीन-चारजना मान्छेको नम्बर दिए,’ टीकाबहादुरले भने, ‘अन्तिमको मान्छेले अझै दुई सय किलोमिटर अघि आउनु भनेपछि दूतावासको मान्छे हो कि होइन भन्ने ठम्याउनै सकेनौं, दूतावासको पनि कोही नभेटी अहिले केदारनाथ नै फर्किएका छौं ।’
भारत केदरनाथ क्षेत्रको सोनप्यार्ड भन्ने प्रहरी बिट नजिकै अहिले अनिलको खोजीमा आफूहरु बसिरहेको उनले बताए । अनिल केदारनाथस्थित गैरुगुनको हेलिप्याड नजिकै बसोबास गर्दै आएका थिए । ‘गैरुगुनामा बसोबास गर्दा खाना खाने ठाउँमा पनि बुझ्न खोज्यौ, उहाँ सँगै काम गर्ने नुवाकोटको साथी हुनुहुन्थ्यो । उहाँहरु पनि हामीसँग कुराकानी गर्न खोज्नुहुन्न,’ उनले भने ।
३० वर्षीय अनिल रोजगारीका लागि एक दशक अघिदेखि भारत आउजाउ गर्दै आएका थिए ।
