नवलपरासी — बिहीबार साँझपख परेको पानीका कारण महेन्द्र राजमार्गको दाउन्ने सडकमा यातायात सञ्चालन रोक लगाइएको छ । बिनयी खोलामा आउने बाढीमा सवारी साधन पर्ने जोखिमका कारण प्रहरीले यातायात बन्द गरेको हो ।
'दाउन्नेमा गाडी फस्ने जोखिम छ । यता बिनयी खोलामा जुनसुकै बेला बाढी आउनसक्ने जोखिम भएका कारण साँझ ७ बजेबाट नै दाउन्ने सडक खण्डमा प्रहरी खटाएर राजमार्ग बन्द गरिएको हो,' प्रहरीले भन्यो ।
सडक डिभिजन कार्यालय भरतपुरले ५ दिनअघि सार्वजनिक सूचना जारी गरेर दाउन्ने सडक खण्डमा साँझ ७ देखि बिहान ५ बजेसम्म मालबहाक र लामा गाडी संचालनमा रोक लगाएको थियो । मंगलबार साँझदेखि बिहीबार साँझ ६ बजेसम्म यो खण्डमा रोकिएका सबै गाडी पूर्वपश्चिम वारपार भएका थिए ।
'वर्षात् नभैदिएको हुन्थ्यो भने राजमार्ग रोक्न पर्दैन्थ्यो,' प्रहरीले भन्यो, 'गत ११ दिनदेखि रोकिएका गाडी राजमार्ग सुकेर दिउँसै वारपार भैसकेका थिए ।'
गत तीनदिन ठूलो पानी नपरेका कारण सुकेको सडकमा मंगलबार साँझदेखि यातायात निर्वाध संचालन भएको थियो । बिनयी खोलाको डाइभर्सनबाट पनि बुधबार साँझदेखि यातायात संचालन भएको थियो ।
गत पुस २६ गते दुम्कीवासस्थित बिनयी खोलामा रहेको फलामे पुल भाचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर यातायात संचालन हुँदै आएको छ ।
दुम्कीवासको बिनयी खोलाको मुहान रहेको पाल्पाको बाकामलांग क्षेत्रमा वर्षात् हुनासाथ यहाँको डाइभर्सन बगाउने गरेको छ ।
