नवलपरासी — वर्षात्का कारण हिलोमा फसेका गाडी निकालेर महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक खण्डमा बुधबार करिब १२ सय गाडी वारपार भएको छ । नौ दिनदेखि पश्चिम नवलपरासीको बर्दघाट आसपासमा रोकिएका ४ सय मालबहाक ट्रक र अन्य ८ सय जति गाडी बुधबार नारायणगढतर्फ गएको प्रहरीले जनाएको छ ।
बुधबार घाम लागेर राजमार्ग ओभाएपछि त्यहाँ फसेका गाडी निकालिएको थियो । त्यसपछि राजमार्ग एकतर्फी खुलेकाले गाडी दाउन्ने कटाइएको प्रहरीले जनाएको छ । दाउन्नेमा पश्चिमबाट पूर्वनारायणगढतर्फ जाने साना गाडी, बस, एम्बुलेन्स र मोटरसाइकल बुधबार वारपार भइरहेको छ । मंगलबार र बुधबार पानी नपरेका कारण दाउन्नेमा सहज भएको हो ।
नारायणगढबाट बुटवलतर्फ जाने लामा गाडीहरु भने प्रहरीले रोकिराखेको छ । दुम्कीबासमा डाइर्भन नभएका कारण त्यहाँ ट्रक र लामा गाडी प्रहरीले गैंडाकोटको हर्कपुर, रजहर, प्रगतिनर, चोरमारा र अरुणखोलामा रोकिदिएको छ । महेन्द्र राजमार्गको होंसी गेट हुँदै सर्दिबाट फेरि महेन्द्र राजमार्गको दुम्कीबास हुँदै साना गाडी र बस भने संचालनमा छन् ।
