गण्डकीका दुई पालिकाले बजेट ल्याउन सकेनन्

असार १०, २०८२

अनुप पौडेल

Two municipalities of Gandaki could not bring the budget

कास्की — आन्तरिक विवादका कारण गण्डकी प्रदेशका ८५ मध्ये दुई वटा पालिकाले मंगलबार बजेट ल्याउन सकेनन् ।

कास्कीको मादी गाउँपालिका र पर्वतको विहादी गाउँपालिकाले गाउँ सभामा बजेट प्रस्तुत गर्न नसकेका हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० भित्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको भएपनि दुई पालिकामा विवाद भएको छ । 

कास्कीको मादी गाउँपालिकामा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सभा सदस्यबीच विवाद हुँदा बजेट पनि प्रस्तुत हुन सकेन । सभामा बोल्ने क्रममा उपाध्यक्ष कल्पना गुरुङमाथि व्यक्तिगत आक्षेप लगाइएको भन्दै एमालेले आइतबार सभा बहिष्कार गरेको थियो । कांग्रेसबाट निर्वाचित मादी–५ की वडा सदस्य पार्वती राना मगरले कार्यक्रम वितरणको विषयमा उपाध्यक्षमाथि आक्रोश पोखेकी थिइन् । एमालेले उनको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गरेको छ । तर, यस विषयमा कांग्रेस–एमालेबीच सहमति जुट्न सकेको छैन । 

भूमि बैंक स्थापनाको विषयमा कांग्रेस र एमालेबीच विवाद हुँदा विहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन सकेको छैन । कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष परविन गुरुङ भूमि बैंक स्थापना गर्नुपर्ने पक्षमा छन् । उनले १० लाख रुपैयाँ बजेट राखेर यसलाई अगाडि बढाउनुपर्ने अडान राखेका छन् । पालिकाले कार्यविधि नबनाएकाले खर्च नहुने शीर्षकमा बजेट राख्न नहुने पक्षमा उपाध्यक्ष मिना शर्मा तिवारी र एमाले छ । 

विवाद भएका दुवै पालिकाको सभा अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ । गण्डकीमा ५८ गाउँपालिका, २६ नगरपालिका र एक महानगरपालिका छन् ।

अनुप

Link copied successfully