बागलुङ — ताराखोला गाउँपालिकाले स्थानीय उत्पादनलाई घरेलु तथा साना उद्योगमा जोड्ने भएको छ । ताराखोलामा बजारीकरण गर्न सकिने दर्जनभन्दा बढी स्थानीय उत्पादन छन् । तीमध्ये कतिपय उत्पादनलाई देशबाहिर निर्यातसमेत गर्न सकिने अवस्थाका छन् ।
ताराखोलामा अल्लोबाट धागो उत्पादन गरी कपडा बनाइन्छ । स्थानीय उद्यमीले बनाउने कपडा जिल्ला र प्रदेश तहमा लोकप्रिय छ । ती कपडाको उत्पादन बढाएर निर्यातमुखी बनाउन पहल गर्ने लक्ष्यसहित ताराखोलाले नीति सार्वजनिक गरेको छ ।
ताराखोलामै नेपाली हाते कागज उद्योगसमेत सञ्चालनमा छ । अहिले बजार अभावमा थोरै उत्पादन गरेर बसेका उद्यमीले बजार पाएमा बढाउने योजना बुनेका छन् । त्यसका लागि गाउँपालिकाले बजारको खोजी गर्ने लक्ष्य राखेको छ । स्थानीयले आफ्नै खेतबारीबाट स्लेट ढुंगा उत्पादन गर्दै आएका छन् । ढुंगा उद्योगलाई गाउँपालिकाले दर्ता गराएको छ । तर उत्पादित सामाग्री बिक्रीका लागि पठाउँदा प्रहरी प्रशासनले रोकेर व्यवसायी हैरानीमा परेका छन् । संघीय र प्रदेशको कानुनमा पनि स्थानीय उत्पादनलाई बजारीकरण गर्ने बाटो खुलाउनुपर्ने अध्यक्ष धनबहादुर बिकले बताए ।
काठजन्य वस्तुको बजारीकरण गर्ने, ताराखोलाको आलुलाई ब्रान्ड गरेर विदेश निर्यातको लक्ष्यसहितको नीति ल्याएको हो ।
ताराखोला अलैंची जोनमा पनि सूचीकृत छ । यहाँ सयौं क्विन्टल अलैंची उत्पादन सुरु भएको छ । तर उचित बजारीकरणमा किसान रोकिएका छन् । गाउँपालिकाले ती उत्पादनलाई बजारमा जोड्न पहल गर्ने र आवश्यक सहजीकरण गाउँपालिकाले गर्ने नीति बिकले बताए ।
ताराखोलाले सशस्त्र संघर्ष र जनयुद्धलाई सम्झाउने गरी ‘गुरिल्ला पदमार्ग’ निर्माणको काम थालेको छ । नीतिमा यो पदमार्गलाई पर्यटन प्रवर्द्धनको मुख्य लक्ष्य बनाएको छ । ६३ किमि लामो पदमार्ग पूरा भएमा सहरी क्षेत्रका पर्यटक पनि भित्र्याउन सकिने योजना छ । ताराखोलामा अहिले पनि रासायनिक मल र जस्तापाता भित्रिएको छैन । स्थानीय ढुंगाकै उत्पादनले घर छाउने गरिएको छ भने उत्पादनमा जैविक मल उपयोग हुन्छ । यहाँ निजी विद्यालय छैनन् । सबैका बालबालिका सामुदायिक विद्यालयमा पढ्छन् ।
उत्पादन बढाउन वितरणमुखी नीतिलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान नीति बनाइएको छ । रोजगारीका लागि विश्व श्रम रोजगार बैंक स्थापना भइसकेको छ । उक्त बैंकमा अधिकतम श्रमिकलाई जोडेर गाउँपालिकाभित्रै रोजगार दिइनेछ । सडक, भवन र स्थानीय उद्योगमा पूर्वाधारको काममा स्थानीय श्रमिकहरु जोडिएका छन् । उत्पादन र रोजगारीमा भने निजी क्षेत्रको पनि साझेदारी भित्राउने नीति ताराखोलाले बनाएको छ ।
