कास्की — गण्डकी प्रदेशका माओवादी सांसदले बजेट वितरणमा असन्तुष्टि जनाउँदै सरकारले ल्याएको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिका संसद्को रोष्ट्रममै च्यातेका छन् ।
पूर्व भौतिकमन्त्रीसमेत रहेका सांसद रेशमबहादुर जुग्जालीले सोमबारको प्रदेश सभाको बैठकको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा पुस्तिका च्यातेका हुन् ।
उनले भने, 'म्याग्दीलाई दुई वर्षदेखि अन्याय भएकोले सबैको प्रतिनिधित्व गर्दै सभामुख महोदयको अनुमतिमा यो किताब च्यात्न चाहन्छु ।' यसो भन्दै उनले किताब च्यातेर रोष्ट्रमबाट बाहिरिएका थिए ।
जुग्जालीका अनुसार आफ्नै गृह जिल्ला म्याग्दीमा जम्मा ३ करोड रुपैयाँका मात्रै नयाँ योजना परेको छ । म्याग्दीको भौगोलिक अवस्था बुझाउन आफूले अर्थमन्त्री र भौतिकमन्त्रीलाई व्यक्तिगत खर्चमा घुमाउने बताए ।
उनले भने, 'एकपटक अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म मेरो व्यक्तिगत खर्चमा घुमाउँछु । सरकारको खर्च पर्दैन । म्याग्दीको भूगोल देखाउँछु । ३ करोडले केही होला र ?'
विपक्षी दल भएकाले बजेटमा आफूहरूलाई सम्बोधन हुने आस पनि नरहेको उनले बताए । तर प्रदेश सरकारले म्याग्दीमा विनियोजन गरेको बजेटले अर्थमन्त्री, मुख्यमन्त्री र एमाले दल नेताका कार्यकर्ताहरूलाई मास्क लगाएर हिँड्न (अनुहार लुकाउन) बाध्य बनाएको व्यङ्ग्य पनि उनले गरे ।
