गण्डकीको बजेटमा मन्त्री र सचिवको हालीमुहाली, सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

बजेट वितरणमा असन्तुष्टि जनाउँदै सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका, मुख्यमन्त्रीको गृह जिल्ला गोरखामा पूर्वाधारमा मात्र १ अर्ब ५५ करोड २२ लाखका योजना

असार ९, २०८२

अनुप पौडेल

Gandaki's budget, minister and secretary's halimuhali, parliament members tore the budget booklet in the rostrum

कास्की — मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र सचिवले हालीमुहाली गरेको भन्दै गण्डकी प्रदेशका अन्य मन्त्री र सांसद रुष्ट भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ पछि बजेट निर्माणमा सक्रिय अर्थ सचिव राजेन्द्रदेव पाण्डेले पनि वार्षिक विकास कार्यक्रममा मनलाग्दी योजना समावेश गरेका छन् ।

मन्त्रालयबाट पठाइएका योजना काटिने, पठाइएभन्दा बढी रकम विनियोजन गर्ने काम अर्थ मन्त्रालय र नीति तथा योजना आयोगबाट भएको गुनासो अर्थबाहेक सबैजसो मन्त्रीको छ।

अर्थ सचिव पाण्डेको गाउँ तनहुँको भानु नगरपालिका–९ मा प्रदेश सरकार मातहतको पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय, पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, जलस्रोत तथा सिँचाइ कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालयबाट ८ करोड ५८ लाख रुपैयाँ बराबरको योजना परेका छन् ।

भानु नगरपालिकाभित्र मात्र २० करोड ७० लाख रुपैयाँका योजना छन् । त्यो बजेटको करिब आधा हिस्सा अर्थ सचिवको गृह वडाले ओगटेको छ । ‘एउटा कर्मचारीले मात्र आफ्नो गाउँमा यत्रो बजेट हाल्ने भन्ने हुँदैन । यसमा त अर्थ मन्त्री र योजना आयोगका उपाध्यक्ष पनि संलग्न छन्,’ सत्तापक्षका एक सांसदले भने, ‘योजना आयोगका उपाध्यक्ष त एक मिनेट पनि छोड्थेनन् भन्ने सुनिन्छ । हामीलाई सिलिङ तोक्ने, कर्मचारीलाई त केही नहुँदो रहेछ ।’ 

प्रदेश मन्त्रालयगत बजेट व्यवस्थापन प्रणालीमा जेठ ३१ को (बजेट आउनुभन्दा अघिल्लो रात) राति अर्थ सचिवले आफ्ना योजना प्रविष्ट गरेका हुन् । मन्त्रालयले योजना प्रविष्ट गर्न मिल्ने प्रणाली बजेट आउनुभन्दा तीन दिन पहिल्यै बन्द गरिएको थियो । त्यसपछि अर्थ मन्त्रालय र नीति तथा योजना आयोगलाई प्रयोग गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना योजना हाले । मुख्यमन्त्रीपछि आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आफ्नो निर्वाचन क्षेत्रका योजना हाल्न लगाए । अन्तिममा सचिव पाण्डेले पनि आफ्नो गाउँका योजना समावेश गरेका हुन् । 

सचिव पाण्डेले मोटरबाटो निर्माण, पदमार्ग निर्माण, खेल मैदान निर्माण, कल्भर्ट निर्माण, सिँचाइ आयोजना, तटबन्ध, भवन निर्माण, शौचालय निर्माणलगायत शीर्षकमा बजेट विनियोजन गरेका छन् । सामाजिक विकास कार्यालय तनहुँअन्तर्गत कार्यान्वयन हुने खेलमैदान निर्माण र स्तरोन्नति योजनालाई १० लाखभन्दा बढी बजेट छुट्याइएको छैन । तर, अर्थ सचिव पाण्डेको गाउँमा चितिखोला खेल मैदान निर्माण शीर्षकमा ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

कार्यालयअन्तर्गत खर्च हुने गरेर ६० लाख रुपैयाँको एउटा मात्र योजना छ । कर्मदा मावि भवन निर्माण शीर्षकको यो बजेट पनि अर्थ सचिव पाण्डेकै गाउँको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँबाट खर्च हुने गरी बागेश्वरी सामुदायिक वनमा गोरेटो बाटो सुधार गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बस्ती संरक्षणजस्तो संवेदनशील विषयमा ५ लाख रुपैयाँभन्दा बढी बजेट नभएको कार्यालयबाट अर्थ सचिव पाण्डेले गोरेटो बाटो सुधारको नाममा ३० लाख रुपैयाँ हालेका छन् । 

विकास बजेट हुने ५ मन्त्रालयबाट सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसद्लाई करिब साढे ४ करोड, प्रत्यक्ष निर्वाचित विपक्षी सांसद्लाई करिब ४ करोड, सत्तापक्षका समानुपातिक सांसद्लाई करिब साढे २ करोड र विपक्षी समानुपातिक सांसद्लाई करिब २ करोड रुपैयाँ बराबरको सिलिङ दिइएको थियो ।

सांसद्ले आफ्नो निर्वाचन क्षेत्र भरका योजनामा ४ करोड बजेट पाउँदा सचिवको गाउँमै साढे ८ करोडको योजना परेको छ । सत्तापक्षकै सांसद्ले सिफारिस गरेका सिलिङभित्रैका योजना पनि वार्षिक विकास कार्यक्रममा अटाएका छैनन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका योजना काटिएका मात्र छैनन् मन्त्रालयले नपठाएका योजना पनि थप भएका छन् । 

बजेट निर्माणको असन्तुष्टि वार्षिक विकास कार्यक्रम पुस्तिका च्यात्ने अवस्थासम्म पुगेको छ । माओवादी सांसद रेशमबहादुर जुग्जालीले सोमबारको प्रदेशसभा बैठकमा मन्त्रालयगत छलफलमा भाग लिने क्रममा रोष्ट्रममै पुस्तिका च्याते । ‘म्याग्दीलाई दुई वर्ष अन्याय भएको छ । म्याग्दीलाई अन्याय भएको यो किताब सभामुख महोदयको अनुमतिले च्यात्न चाहन्छु,’ यसपछि उनले किताब च्याते । 

आफ्नो गृह जिल्ला म्याग्दीमा ३ करोड रुपैयाँका मात्र नयाँ योजना परेको जुग्जालीले सुनाए । म्याग्दीको भूगोल बुझाउन अर्थ र भौतिक मन्त्रीलाई व्यक्तिगत खर्चमा म्याग्दी घुमाउने भन्दै उनले आक्रोश पोखे । ‘एकपटक अर्थमन्त्री र भौतिकमन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दरखोलासम्म मेरो व्यक्तिगत खर्चमा घुमाउँछु । सरकारको खर्च पर्दैन । म्याग्दीको भूगोल देखाउँछु । ३ करोडले केही होला र ?’ उनले भने ।

प्रदेशभित्रैका सचिव मन्त्रालयमा नल्याउन सरकारसमक्ष पूर्वभौतिक मन्त्रीसमेत रहेका जुग्जालीले प्रस्ताव नै गरे । त्यतिमात्र होइन सचिवसमक्ष मन्त्री निरीह बनेको र कर्मचारीको पछाडि हिँड्नुपर्ने अवस्था आएको भन्दै उनले व्यंग्य गरे । ‘कर्णालीको ल्याउनुस् न त्यसलाई के मतलब । अरू प्रदेशको सचिव ल्याएर बजेट बनाउनुपर्‍यो,’ उनले भने, ‘मन्त्रीभन्दा बहादुर सचिव भएपछि हामी माननीय पनि निलो कोट जिन्दावाद भन्दै हिँड्ने त होला !’

आइतबारको बैठकमा एमाले सांसद् भीम कार्कीले आफूहरुका योजना रातारात बसाइँ सरेर ‘मर्स्याङ्दी वरपर’ गएको भन्दै सचिव पाण्डेमाथि व्यंग्य गरे । ‘मर्स्याङ्दी नदी वरपर (भानु नगरपालिकातिर) एकदमै राम्रो बस्ती छ रे !’ उनले भने, ‘त्यहाँ धेरै योजना अटाउन सक्ने छ रे ! हाम्रा धेरै योजना रातारात बसाइँ सरेर गएछन् । त्यता बजेटको बाढिपहिरोको जोखिम छ कि !’ 

विपक्षी दल माओवादी प्रमुख सचेतक कुसुम बुढा पुनले व्यक्तिगत स्वार्थले आगामी आर्थिक वर्षको बजेट अल्मलिएको टिप्पणी गरिन् । प्रदेशले उल्लेखनीय काम गर्न नसकेको, गर्न नसकिने र बजेट वितरणले गन्तव्यमा पुर्‍याउन नसक्ने उनको भनाइ छ । ‘सांसदलाई लाखका योजना, सचिवलाई करोडौंका योजना । हामी कहाँ जाँदैछौं ? यसले निर्धारण गर्छ । हामी यात्रा पूर्वको गर्दैछौं । सोच पश्चिमको राख्दैछौं । यसले गन्तव्य पहिल्याउन सकिन्छ त ? सकिँदैन,’ उनले भनिन् ।

अर्थ सचिव पाण्डेले आफूले कसैको योजना काट्ने, आफ्नो गाउँमा योजना हाल्ने काम नगरेको दाबी गरे । गाउँमा परेका योजना अर्थ मन्त्रालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै प्रविष्ट भएर आएको उनले जिकिर गरे । ‘एउटा कर्मचारीले ३० करोडको योजना हाल्न सक्ने भन्ने हास्यास्पद कुरा हो,’ उनले भने, ‘गण्डकीको अर्थ सचिव, मेरो घर पनि गण्डकी प्रदेशमै भएको हुनाले मेरो गाउँ, वरपरका मान्छेले भनेका योजना सम्बन्धित मन्त्रालयमा भनिएको हो । मन्त्रालयले प्रस्ताव गरेको योजना आएका हुन् ।’

प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा योजना प्रविष्ट गरेर मात्र बजेट वितरण गर्ने योजना सार्वजनिक गरेको थियो । तर, यसपटक पनि अन्धाधुन्ध बजेट वितरण गरिएको छ जसले गर्दा पहुँचवालाकहाँ बजेटको कुनै कमी छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले गृह जिल्ला गोरखामा पूर्वाधारतर्फ १ सय ५४ वटा योजनामा १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ बजेट पारेका छन् ।

आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको गृह जिल्ला लमजुङमा ७९ करोड ५९ लाख रुपैयाँका ८२ वटा योजना परेका छन् । सत्तापक्ष एमाले दल नेता खगराज अधिकारीले २९ करोड रुपैयाँ बराबरको योजना लिएका छन् । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि असार १ मा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

अनुप पौडेल

Link copied successfully