नवलपरासी — नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत दुम्कीबासमा पुल भासिएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि अवरुद्ध बनेको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-३ खरङ्गे खोलामा वर्षाका कारण बाढी आएपछि सवारीसाधन आवतजावत ठप्प बनेको हो । पूर्व-पश्चिम राजमार्गस्थित विनयी खोलामा सञ्चालन रहेको डाइभर्सन पनि पानीको बहाव बढ्न गई बगाएपछि साना तथा मध्यम (१२ चक्के) सवारीसाधन वैकल्पिक मार्गबाट चलिरहेका थिए । भित्री सडक होङ्सी गेट, सर्दी हुँदै ज्यामिरेबाट सञ्चालन हुँदै आएकामा वैकल्पिक सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए ।
सडक विभागले दुम्कीबास-बर्दघाट खण्डमा अहिले मालवाहक सवारी आवागमन रोकेको छ भने रातको समयमा सबै प्रकारको सवारी निषेध गरेको छ ।
सामान्य वर्षामा पनि दाउन्नेमा सडक चिप्लो हुने र विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडक खण्डमा यातायात अवरुद्ध हुँदै आएको छ ।
