बागलुङ — गलकोट नगरपलिकाले नीति र बजेटमा नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । बजेटमा पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको हो ।
नगर प्रमुख भरत शर्मा गैरेले ल्याएको नीति तथा कार्यक्रममा नगर अस्पतालमा मिर्गौला रोगीलाई हेमोडाइलाइसिस सेवा विस्तार गर्ने, मुटुरोग सहितका दीर्घरोगको निःशुल्क उपचार र हृदयघात रोकथाम कार्यक्रम संचालन गरिने भएको हो । सोही नीतिमा टेकेर उपप्रमुख फमलाल निउरेले नगर अस्पताललाई १ करोड बजेट विनियोजन गरेका छन् ।
हाल १० बेडको अस्पताल मात्रै संचालन गरेको गलकोटले आगामी वर्ष १५ शय्याको अस्पताल बनाएर विपन्न नागरिकको निःशुल्क उचारसमेत गराउने नीतिमा उल्लेख छ । नीतिमै उपप्रमुखसँग थ्राम्बोलाइसिस (हृदयघात रोकथाम) कार्यक्रम पनि संचालनमा ल्याउने उल्लेख छ । ७१ करोड ७४ लाखको बजेटमा स्वास्थ्य क्षेत्रमा मात्रै ५ करोड ३७ लाख बजेट विनियोजन भएको हो ।
नगर स्तरीय विपन्न नागरिक उपचार कोष पनि संचालनमा ल्याइने भएको छ । आर्थिक विपन्न परिवारले विशिष्टीकृत सेवा पनि निःशुल्क पाउने छन् । नगरले सोही कोषबाट रकम भुक्तानी गर्ने उल्लेख छ । नगर अस्पताल सहित नगरभित्रका सबै स्वास्थ्य संस्थालाई पेपरलेस बनाउने, सबै स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइ समेतमा डिजिटल विधि मार्फत रेकर्ड राख्ने व्यवस्था गरिएको छ ।
नगर अस्पतालमै मिर्गौला रोगी, मुटु रोगी लगायतका दीर्घ रोगीको निःशुल्क स्क्रिनिङ र उपचार सेवा पाउने भएका छन् । नगरभित्र नियमित गर्भ परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई एकमुष्ट ४ हजार ६ सय रुपैयाँ प्रोत्सहन भत्ता दिने व्यवस्था छ । नेपाल सरकारले दिने २ हजार थप गरेर नगरपालिकाले ६ हजार ६ सय रुपैयाँ दिने गरेको छ । फेमिली हेल्क प्रोफाइल मार्फत स्वास्थ्य कार्ड छपाइ र वितरण पनि गर्ने नीतिमा उल्लेख छ ।
