नवलपरासी — ६ दिनदेखि दाउन्नेमा फसेका करिब १८ सय गाडीलाई गन्तव्यमा पठाइएको छ । शुक्रबारदेखि दाउन्नेमा फसेका गाडी हटाउन सुरु गरिएको हो ।
हिलो र खाल्डैखाल्डा रहेको दाउन्ने सडकमा ग्राभेल राख्न भन्दै मर्मतसम्भार चलिहरँदा हिलो भएपछि त्यहाँ जाममा फसेका सबैजसो गाडी निकालेर गन्तव्यतर्फ पठाइएको हो ।
पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार राजमार्ग निर्माण गर्ने ठेकेदारले दाउन्नेमा सडक मर्मत गर्नका लागि दाउन्ने खाली गर्नु परेको हो । त्यहाँ ग्राभेल राखेर सडक सम्याउन सडक खाली गर्न परेको हो । दाउन्ने पारीको बर्दघाटदेखि पूर्वतर्फको दुम्कीबास बजार र होङ्सी सिमेन्ट कारखाना गेटसम्मका गाडी दुई दिन लगाएर हटाइएको हो । त्यहाँ अलपत्र परेका गाडी एक लाइनमा पार्किङ गरेर राखिएको र धेरैलाई गन्तव्यतर्फ पठाइएको ढकालले जानकारी दिए ।
दुम्कीबास बजारदेखि ४ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर छेउछाउमा हिलोका कारण गाडी फसेपछि दाउन्ने सडक गत ६ दिनदेखि अवरुद्ध रहेको छ । लामा मालवहाक ट्रक हिलोमा फस्ने र चिप्लिने जोखिम उस्तै छ । सामान्य वर्षात हुनासाथ त्यहाँ उकालो रहेको स्थानमा गाडी उक्लिन सक्दैन । त्यो स्थानमा ग्राभेल हालेर सडकको चाँजोपाँजो मिलाउन प्रहरीले दाउन्ने सडक खाली गराएको हो ।
दाउन्ने सडकमा आइतबार ४० जना प्रहरी खटाएर ट्राफिक व्यवस्था मिलाइएको छ । दाउन्ने र दुम्कीबासमा फसेका ४० वटा माल बोक्ने भारतीय ट्रकलाई बर्दघाटतर्फ कटाउन प्रयास भइरहेको प्रहरीले जनायो ।
आइतबार दिउँसो ५ बजेसम्म दाउन्ने सडकमा ३० टिपर ग्राभेल हालिएको छ । त्यहाँ करिब ५ सय टिपर ग्राभेल आवश्यक पर्ने योजना निर्देशनालयले जानकारी दियो । ५ सय टिपर ग्राभेल राखेर सम्याएपछि दाउन्नेमा गाडी हिँडाउन सजह हुने अनुमान छ । सामान्य वर्षात हुनासाथ दाउन्नेको उकालो र हिलो बाटोमा गाडी फसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बीचमा पर्ने १४ किलोमिटर क्षेत्र दाउन्ने पहाडमा पर्दछ । त्यहाँ राजमार्ग निर्माण गर्न भन्दै पिच भत्काएर ठेकेदारले छोडेका कारण घाम लाग्दा सडक धुलाम्य हुने अनि पानी पर्नासाथ हिलाम्य हुने गरेको छ ।
