अवैध सुन बेच्न पन्जाबदेखि पोखरा, दुई जना पक्राउ

८२ तोला सुनको गरगहना बरामद

असार ७, २०८२

अनुप पौडेल

Two arrested from Punjab to Pokhara for selling illegal gold

कास्की — सुन र हिराका गरगहनाको अवैध कारोबारमा संलग्न दुई जना पोखराबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शुक्रबार एक भारतीयसहित दुई जनालाई पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीबाट पक्राउ गरेको हो।

भारतको पन्जाब न्युप्रताप नगरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कार्यालय प्रमुख एसपी श्यामबाबु ओलियाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनीहरूको साथबाट ९ प्रकारका गरगहना बरामद भएको छ। ढिक्का सुन, सुनको सिक्री, माला, पत्थर र हिरा जडित औँठी, कानमा लगाउने जुली, मङ्गलसूत्र, लकेट, पोते, झुम्का गरी ८२ तोला १६ लाल सुनको गरगहना बरामद भएको हो। पत्थरबाहेक २२, २४ र १८ क्यारेट सुनको बजार मूल्य एक करोड ३० लाख ४१ हजार ८ रुपैयाँ पर्ने एसपी ओलियाले बताए।

पक्राउ परेका दुई जना ३ वर्ष पहिलेदेखि नै सामाजिक सञ्जाल फेसबुकमा साथी रहेको भेटिएको छ। दुवै जना कालीगढ हुन्। कुलदीपले भारतको गोरखपुर, बिहार, उडिसा, दिल्ली, हरियाणालगायत ठाउँमा सुन बिक्री गर्थे। उनले अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट सुन लिने गरेको प्रारम्भिक बयान दिएका छन्।

नेपालमा पनि सुन बेच्ने योजनासहित कुलदीपले रामबहादुरलाई सम्पर्क गरेका थिए। सुन बिक्री भएमा कमिसन दिने सर्तमा कुलदीपले रामबहादुरलाई पनि पोखरा ल्याए। आफूले ठाउँ नचिनेकाले साथी बनिदिन भन्दै कुलदीपले आग्रह गरेपछि रामबहादुर पनि बुटवलबाट पोखरा आए। उनीहरू जेठ ४ मा पोखरा आएर सुन पसलमा सुन बिक्री गर्न खोजे। व्यवसायीले सुन नकिने भएपछि उनीहरू फर्किए। अवैध सुन पोखरा भित्रिएको खबर व्यवसायीमार्फत नै प्रहरीकहाँ पुगेको थियो।

सुन बिक्री नभएपछि पोखरा छोडेर फर्कने क्रममा दुवै जना कास्की र स्याङ्जाको सीमामा पर्ने पुम्दी–भुम्दीबाट पक्राउ परेका हुन्।

भारतमा चोरी भएका सुन बिक्री गर्न कुलदीपले पोखरा ल्याएको हुनसक्ने प्रहरीको आशंका छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि आइतबार राजस्व अनुसन्धान विभाग काठमाडौँ पठाउने तयारी छ।

अनुप

Link copied successfully