विनयीखोलामा नयाँ पुल यसै महिनाभित्र सञ्चालनमा आउने, सडक जाम भइरहने दाउन्ने क्षेत्रको समस्या भने तत्काल नहट्ने
नवलपरासी — पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्किबासमा रहेको विनयीखोलाको डाइभर्सन बिहीबार राति बगेपछि सवारी आवागमन ठप्प भएको छ । मालवाहक र ठूला यात्रुवाहक सवारी साधन खोला वारि–पारि अड्किएका छन् भने साना सवारी साधनले वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।
नारायणगढ–बुटवल सडक खण्डकै दाउन्ने क्षेत्रमा मंगलबारदेखि नै सवारी आवागमन आंशिक रूपमा मात्रै सञ्चालन भइरहेकामा बिहीबार राति ११ बजे नजिकै विनयीखोलाको डाइभर्सन पानीले बगाएको थियो । त्यही बेला
भे १ ख ४०८५ नम्बरको बस डाइभर्सन पार गर्न खोज्दा भेलमा फसेको थियो । करिब आधा घण्टापछि एक्स्काभेटरसहित आएका सुरक्षाकर्मी र स्थानीयले यात्रुको उद्धार गरेका थिए ।
दुम्किबासमा शुक्रबार दिउँसो भेटिएका दाङका सरोज चौधरी सपरिवार हिँडेरै दाउन्ने खण्डको १४ किलोमिटर पार गर्ने सोचमा थिए । ‘विनयीखोलाको डाइभर्सन बन्ने आसमा बस्नुभन्दा पैदल बर्दघाट पुगेर त्यहाँबाट अर्को गाडीमा जानु नै ठीक लाग्यो,’ उनले भने, ‘हिँड्दा करिब तीन घण्टामा दाउन्ने पार गरिन्छ होला । अरू यात्रु पनि हिँडिरहेका छन् ।’
भारतीय लहरीको ठक्करबाट गत २८ पुसमा विनयीखोलाको पुल भासिएको थियो । त्यसपछि निर्माण गरिएको डाइभर्सन सामान्य वर्षामा पनि बग्ने गरेको छ । आकाशमा बादल हेरेर मात्र यस सडकको यात्रामा निस्कनुपर्ने अवस्था रहेको यात्रु बताउँछन् ।
विनयीखोलामा भासिएको पुल मर्मत नभए पनि सडक विस्तारका क्रममा निर्माण गरिएको नयाँ पुल असारभित्रै सञ्चालनमा आउने र त्यसपछि यात्रा सहज हुने नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर शिव खनालले बताए । ‘दाउन्नेमा मर्मत गरे पनि पानी आएपछि बगिहाल्छ । ठेकेदार पक्षलाई गिट्टी हालेर सहज बनाउन निर्देशन दिएका छौं । तर अब केही दिनपछि दुम्किबासको समस्या समाधान हुन्छ,’ उनले भने । सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेले नयाँ पुलमा २२ असारबाट गाडी चलाउन सकिने बताए । ‘विनयीखोलामा डाइभर्सन बनायो, बाढी आउँछ, बग्छ । यो क्रम अझै केही चल्ला जस्तो छ,’ उनले भने, ‘अरु विकल्पै छैन ।’
विनयी–त्रिवेणी नगरपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्ने सडकमा फटाफट काम गर्न प्रधानमन्त्री केपी शर्मा ओली, राजमार्ग हेर्ने आयोजनाका निर्देशक चूडाराज ढकाल र यातायातमन्त्री देवेन्द्र दाहाललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको दुखेसो पोखे । ‘राजमार्गमा हिँड्ने यात्रुले कहाँबाट नम्बर पाउँदा रैछन्, स्थानीय सरकार के रमिता हेरेर बसेको छ भन्दै हप्काउँछन्,’ उनले भने ।
नयाँ पुल सञ्चालनमा आएपछि विनयीखोलामा सहज आवागमन हुन सके पनि दाउन्ने क्षेत्रमा यात्रुले सास्ती भोग्नुपर्छ । दाउन्नेमा पानी पर्नासाथ सडक हिलाम्य हुन्छ । बिहीबार सडक एकतर्फी सञ्चालन हुँदा गाडीलाई दाउन्ने पार गर्नै आठ घण्टाभन्दा बढी समय लागेको थियो । गाडी चल्दा पनि चिप्लिने जोखिम छ ।
लोक सेवा आयोगको परीक्षाका लागि हेटौंडा जान बिहीबार साँझ भैरहवाबाट गाडी चढेका भैरहवाका सोनु गुप्ता ८ बजे दाउन्नेको जाममा परेका थिए । रातभर त्यहीं बसेका उनले शुक्रबार बिहान पनि जाम खुल्ने छाँट नदेखिएपछि गाडी छाडेर पैदल दुम्किबास आइपुगेको सुनाए । ‘कतै–कतै मोटरसाइकलमा लिफ्ट माग्दै बिहान ११ बजे दुम्किबास आइपुगें,’ उनले भने ।
पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले राजमार्ग राम्ररी मर्मतसम्भार नगरिएका कारण प्रहरीले समेत चौबिसै घण्टा हैरानी व्यहोर्नुपरेको बताए । ‘दाउन्ने डाँडामा गाडी र मान्छे नथुप्रिऊन् भनेर ठाउँठाउँमा रोक्नुपरिरहेको छ,’ उनले भने, ‘अनेकपल्ट हारगुहार गरियो, पत्राचार गरियो । राजमार्गमा काम गर्न सडकका मान्छे नै आउँदैनन् ।’ बुटवल–नारायणगढ सडकमा दैनिक १८ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।
