परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ- बुटवल सडक खण्डको दाउन्ने र दुम्किबासमा सडक अवरुद्ध भएपछि जाममा परेका यात्रु र बसका चालक, सहचालकलाई लक्षित गर्दै बर्दघाटमा घुम्ती शौचालय राखिएको छ ।
बजार क्षेत्रमा जाममा परेका यात्रुलाई दिसापिसाब गर्न समस्या भएको भन्दै बर्दघाट नगरपालिकाको घुम्ती शौचालय बर्दघाट जेसिस र बर्दघाट खानेपानीको समन्वयमा बर्दघाटको मुख्य बजार क्षेत्रमा राखिएको हो । जामका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुहरुको सहजताका लागि घुम्ती शौचालय राखिएको नगर प्रमुख शम्भूलाल श्रेष्ठले बताए ।
दुई दिनसम्म जाममा परेका यात्रुहरुलाई शौच गर्न समस्या भएको गुनासो आएपछि नगरपालिकाले सूचना नै जारी गरेर बजार क्षेत्रमा रहेका घर तथा होटेल रेस्टुरेन्टमा शौचालय प्रयोग गर्न दिन आग्रह गरिएको थियो ।
यसै गरेर पुर्वी नवलपरासीको दुम्किबासका स्थानीयले अलपत्र परेका यात्रुलाई खाजा, पानी र खानाको नि:शुल्क व्यवस्थापन गरेका छन् । स्थानीय बासिन्दाले स्वत:स्फूर्त सहयोग उठाएर यात्रुलाई खाना खुवाएको दुम्किबास बजार व्यवस्थापन समितिका अध्यक्ष पबित्रबहादुर जिसीले बताए । दुई दिनमा १ हजार ५ सयभन्दा बढी यात्रुले खाना, खाजा खाएका छ्न् । जाममा परेकाहरु हिँडेर दुम्किबासदेखि बर्दघाटसम्म हिँडेका छ्न् ।
अहिले दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत भइरहेको छ । सडक विभागले सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाइएको र सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
