लमजुङमा दुई दिनदेखि हराइरहेका युवक मृत फेला

असार ७, २०८२

आश गुरुङ

A young man who had been missing for two days was found dead in Lamjung

काठमाडौँ — लमजुङको बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की दुई दिनपछि मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार शनिबार बिहान ८ बजेतिर सार्कीको शव फेला परेको हो । उनी बिहीबारदेखि हराइरहेका थिए ।

बेँसीसहर नगरपालिका–९, डम्पिङ साइटको पश्चिमतर्फ झिङ्गेखोला (झ्याङ खोला) को धारमा सार्कीको शव फेला परेको प्रहरी निरीक्षक साह तेलीले जानकारी दिए । ढुंगाको चेपमा शव रहेको सूचनापछि प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

प्रदेश अस्पताल बेँसीसहरमा राखिएको शवलाई बेँसी सहर नगरपालिका–२ की मनमाया सार्कीले आफ्ना छोरा भनी सनाखत गरेकी हुन् । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हालसम्म कर्तव्य भएको आशंका गर्ने कुनै आधार फेला नपरेको र पोस्टमार्टमपछि विस्तृत विवरण प्राप्त हुने प्रहरी निरीक्षक साह तेलीले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully