बारपाक दलित बस्तीको टहरोमा बर्सेनि त्रिपाल फेरिन्छ, घर बन्ने टुंगो छैन

बारपाकका भूकम्प पीडितलाई टहरो ढाक्न त्रिपाल वितरण

असार ६, २०८२

हरिराम उप्रेती

Tripal is changed every year in Barpak Dalit slums, house building is not finished

गोरखा — १० वर्षअघि निर्माण भएको टहरो जीर्ण बनेर पानी चुहिन थालेपछि २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकका २४ घर दलित बस्तीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले त्रिपाल वितरण गरेको छ ।

१० वर्षअघि भूकम्प लगतै राहतमा पाएको र पुरानो घरको जस्ताको प्रयोगबाट २४ घरधुरी दलित बस्ती टहरो बनाएर बारपाक प्रवेशद्वारको सरकारी जग्गामा बसेका थिए । उनीहरूले अहिलेसम्म नयाँ घर पाएका छैनन् । पुरानो जस्ताको प्रयोगबाट बनेको टहरोमा पानी चुहिने समस्या थपिएपछि स्थानीयले भूकम्प लगतै राहतमा पाएको त्रिपालले टहरोको छाना ढाकेका थिए । तत्कालीन समयमा राहतमा पाएको त्रिपाल पनि धुजाधुजा बनेर पानी नथेगेपछि चुहिने समस्याबाट उनीहरू आजित छन् ।

बस्तीको स्थलगत अध्ययनबाट अवस्था निकै दयनीय देखिएपछि टहराको छानो ढाक्न २५ थान त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस गोरखाका कार्यालय प्रमुख सुवास घिमिरेले बताए । ‘पुरानो जस्ताको प्रयोगबाट बनेको टहरो रहेछ, बर्खाको बेला छानाबाट मझेरीमै पानी चुहिँदो रहेछ, कतिपयको त टहरोभित्र लेउ पनि लागेको देख्यौं,’ उनले भने,‘बर्खा लागिसक्यो, टहरोको बसाइँ निकै कष्टकर देखेपछि त्रिपाल लगेर आफै बसेर छानामा ढाक्न लगायौँ ।’

बस्तीका २४ घरलाई १/१ थान तथा आरन घरको लागि थप १ थान त्रिपाल वितरण भएको उनले बताए । ‘प्रत्येक टहरोको अनुगमन गर्दा सबैमा पानी चुहिँदो रहेछ,’ उनले भने,‘यो दीर्घकालीन समाधान त होइन, बर्खा लागिसक्यो भनेर बलियो खालको त्रिपाल वितरण गर्‍यौँ ।’ बस्तीका घरको छाना ढाक्न प्रयोग भएको पुरानो त्रिपाल सबै च्यातिएको पाइएको पनि उनले बताए ।

Tripal is changed every year in Barpak Dalit slums, house building is not finished

टहरामा बस्दै आएका पीडित वर्षैपिच्छे छानाको त्रिपाल फेर्ने र जस्ता अड्याउने भाटा फेर्दै सुरक्षित स्थानमा नयाँ घर बनाउने आशामा बसिरहेका छन् । हिउँदमा शीत र बर्खामा पानी चुहिदा बस्तीका वृद्धवृद्धा र बालबच्चामा स्वास्थ्यको समस्या हुने गरेको छ । निमेक गरेर गुजारा गर्दै आएका स्थानीयले रकम अभावमा नयाँ जग्गा किनेर घर बनाउन आँट गर्न सकेका छैनन् । १० वर्षको अन्तरालमा चार पटकसम्म टहरोको छानामा त्रिपाल फेर्दा पनि पानी चुहिने समस्या नहटेको बारपाक दलित बस्तीकी पूर्णिमा सुनारले बताइन् । ‘कात्तिक–मंसिरदेखि शीत चुहिन्छ, चैत–वैशाखामा असिना र हावाहुरीले छानै उडाउला जस्तो गर्छ, बर्खा लागे चुहिएर मझेरी हिलाम्मे बन्छ,’ उनले भनिन् ।

भूकम्पको केन्द्रबिन्दु बारपाकमा दलित समुदाय बस्दै आएको बारपाक सुलिकोट–१ को बस्ती भूकम्पले ध्वस्त बनेपछि उनीहरू भूकम्प लगतै थातथलो छाडेर बारपाक प्रवेशद्वारको कृषि, जलाधार र पशु कार्यालय अन्तरगतको सरकारी जग्गामा टहरो हालेर बसेका थिए ।

तत्कालीन समयमा दलित बस्तीको करिब सात रोपनी खण्डहर जग्गामा ‘भूकम्प स्मृति जीवित संग्राहालय’ बनाउन पुनर्निर्माण प्राधिकरणले तयारी गरेको थियो । केही स्थानीय थातथलो छाड्न नमान्ने केही खण्डहर जग्गामा नफर्कने अडानमा सार्वजनिक जग्गामै बसिरहे । स्थानीयबीच मत बाझिएपछि संग्राहलय बनाउने तयारीबाट प्राधिकरण पछि हट्यो । यहीँ विवादका कारण भूकम्प गएको १० वर्षसम्म यहाँका पीडितले नयाँ घर पाएका छैनन् ।

Tripal is changed every year in Barpak Dalit slums, house building is not finished

०८० साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले साबिक बारपाक गाविसको ६ रोपनी १० आना ३ पैसा जग्गा सट्टा भर्नादिनका लागि सहमति प्रदान गरेको थियो । १५ जना जग्गाधनीको भूकम्प स्मृति पार्क निर्माणका लागि ‘भूकम्प स्मृति पार्क, गोरखा’ को नाममा प्राप्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय छ । यस बापत स्थानीयले ‘भूकम्प स्मृति पार्क गोरखा’को नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको हो । तर मन्त्रिपरिषद्को उक्त निर्णयप्रति साबिकको ठाउँमा बस्दै आएका स्थानीयले आपत्ति जनाएका छन् ।

सरकारी जग्गामा टहरोमा बस्दै आएकाहरू भने पुरानो बस्ती भौगर्भिक हिसाबले बस्न अयोग्य रहेको बताउँछन् । मन्त्रिपरिषद्को उक्त निर्णय पनि दुई वर्षसम्म कार्यान्वयन हुन सकेको छैन । बस्तीको समस्या पेचिलो बन्दै जाँदा दलित समुदाय राजनैतिक हिसाबले पनि दुई पार्टीमा विभाजित बनेका छन् । सरकारी जग्गामा बस्दै आएकाहरू कांग्रेस र साबिकको ठाउँमा बस्दै आएकाहरू माओवादी निकट रहँदा पनि आफ्नो स्वार्थ अनुसार स्थानीयले राजनीतिक दबाब बढाउने गरेका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully