बारपाकका भूकम्प पीडितलाई टहरो ढाक्न त्रिपाल वितरण
गोरखा — १० वर्षअघि निर्माण भएको टहरो जीर्ण बनेर पानी चुहिन थालेपछि २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकका २४ घर दलित बस्तीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले त्रिपाल वितरण गरेको छ ।
१० वर्षअघि भूकम्प लगतै राहतमा पाएको र पुरानो घरको जस्ताको प्रयोगबाट २४ घरधुरी दलित बस्ती टहरो बनाएर बारपाक प्रवेशद्वारको सरकारी जग्गामा बसेका थिए । उनीहरूले अहिलेसम्म नयाँ घर पाएका छैनन् । पुरानो जस्ताको प्रयोगबाट बनेको टहरोमा पानी चुहिने समस्या थपिएपछि स्थानीयले भूकम्प लगतै राहतमा पाएको त्रिपालले टहरोको छाना ढाकेका थिए । तत्कालीन समयमा राहतमा पाएको त्रिपाल पनि धुजाधुजा बनेर पानी नथेगेपछि चुहिने समस्याबाट उनीहरू आजित छन् ।
बस्तीको स्थलगत अध्ययनबाट अवस्था निकै दयनीय देखिएपछि टहराको छानो ढाक्न २५ थान त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस गोरखाका कार्यालय प्रमुख सुवास घिमिरेले बताए । ‘पुरानो जस्ताको प्रयोगबाट बनेको टहरो रहेछ, बर्खाको बेला छानाबाट मझेरीमै पानी चुहिँदो रहेछ, कतिपयको त टहरोभित्र लेउ पनि लागेको देख्यौं,’ उनले भने,‘बर्खा लागिसक्यो, टहरोको बसाइँ निकै कष्टकर देखेपछि त्रिपाल लगेर आफै बसेर छानामा ढाक्न लगायौँ ।’
बस्तीका २४ घरलाई १/१ थान तथा आरन घरको लागि थप १ थान त्रिपाल वितरण भएको उनले बताए । ‘प्रत्येक टहरोको अनुगमन गर्दा सबैमा पानी चुहिँदो रहेछ,’ उनले भने,‘यो दीर्घकालीन समाधान त होइन, बर्खा लागिसक्यो भनेर बलियो खालको त्रिपाल वितरण गर्यौँ ।’ बस्तीका घरको छाना ढाक्न प्रयोग भएको पुरानो त्रिपाल सबै च्यातिएको पाइएको पनि उनले बताए ।
टहरामा बस्दै आएका पीडित वर्षैपिच्छे छानाको त्रिपाल फेर्ने र जस्ता अड्याउने भाटा फेर्दै सुरक्षित स्थानमा नयाँ घर बनाउने आशामा बसिरहेका छन् । हिउँदमा शीत र बर्खामा पानी चुहिदा बस्तीका वृद्धवृद्धा र बालबच्चामा स्वास्थ्यको समस्या हुने गरेको छ । निमेक गरेर गुजारा गर्दै आएका स्थानीयले रकम अभावमा नयाँ जग्गा किनेर घर बनाउन आँट गर्न सकेका छैनन् । १० वर्षको अन्तरालमा चार पटकसम्म टहरोको छानामा त्रिपाल फेर्दा पनि पानी चुहिने समस्या नहटेको बारपाक दलित बस्तीकी पूर्णिमा सुनारले बताइन् । ‘कात्तिक–मंसिरदेखि शीत चुहिन्छ, चैत–वैशाखामा असिना र हावाहुरीले छानै उडाउला जस्तो गर्छ, बर्खा लागे चुहिएर मझेरी हिलाम्मे बन्छ,’ उनले भनिन् ।
भूकम्पको केन्द्रबिन्दु बारपाकमा दलित समुदाय बस्दै आएको बारपाक सुलिकोट–१ को बस्ती भूकम्पले ध्वस्त बनेपछि उनीहरू भूकम्प लगतै थातथलो छाडेर बारपाक प्रवेशद्वारको कृषि, जलाधार र पशु कार्यालय अन्तरगतको सरकारी जग्गामा टहरो हालेर बसेका थिए ।
तत्कालीन समयमा दलित बस्तीको करिब सात रोपनी खण्डहर जग्गामा ‘भूकम्प स्मृति जीवित संग्राहालय’ बनाउन पुनर्निर्माण प्राधिकरणले तयारी गरेको थियो । केही स्थानीय थातथलो छाड्न नमान्ने केही खण्डहर जग्गामा नफर्कने अडानमा सार्वजनिक जग्गामै बसिरहे । स्थानीयबीच मत बाझिएपछि संग्राहलय बनाउने तयारीबाट प्राधिकरण पछि हट्यो । यहीँ विवादका कारण भूकम्प गएको १० वर्षसम्म यहाँका पीडितले नयाँ घर पाएका छैनन् ।
०८० साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले साबिक बारपाक गाविसको ६ रोपनी १० आना ३ पैसा जग्गा सट्टा भर्नादिनका लागि सहमति प्रदान गरेको थियो । १५ जना जग्गाधनीको भूकम्प स्मृति पार्क निर्माणका लागि ‘भूकम्प स्मृति पार्क, गोरखा’ को नाममा प्राप्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय छ । यस बापत स्थानीयले ‘भूकम्प स्मृति पार्क गोरखा’को नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको हो । तर मन्त्रिपरिषद्को उक्त निर्णयप्रति साबिकको ठाउँमा बस्दै आएका स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारी जग्गामा टहरोमा बस्दै आएकाहरू भने पुरानो बस्ती भौगर्भिक हिसाबले बस्न अयोग्य रहेको बताउँछन् । मन्त्रिपरिषद्को उक्त निर्णय पनि दुई वर्षसम्म कार्यान्वयन हुन सकेको छैन । बस्तीको समस्या पेचिलो बन्दै जाँदा दलित समुदाय राजनैतिक हिसाबले पनि दुई पार्टीमा विभाजित बनेका छन् । सरकारी जग्गामा बस्दै आएकाहरू कांग्रेस र साबिकको ठाउँमा बस्दै आएकाहरू माओवादी निकट रहँदा पनि आफ्नो स्वार्थ अनुसार स्थानीयले राजनीतिक दबाब बढाउने गरेका छन् ।
