कास्की — कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसेको पहिरोले मादी-१ खिलाङमा दुई र मादी-६ तप्राङमा चारवटा घरमा क्षति पुगेको हो ।
खिलाङमा घरमाथिबाट खसेको पहिरोले दुई घर सामान्य क्षति भएको र दुई वटा भैंसी पुरिएर मरेको मादी-१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए ।
मादी-६ भेडीखर्कमा ३ वटा र सयपत्री टोलमा चार वटा घरमा क्षति पुगेको मादी-६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
भेडीखर्कका स्थानीय वीरबहादुर रानाको दुई वटा, सोही ठाउँका सन्तबहादुर राना र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा क्षति पुगेको हो । `घटनामा मानवीय क्षति भएको छैन । चार वटै घरमा बस्न मिल्ने अवस्था छैन,' उनले भने, 'कुनैको जगबाटै गएको छ, कुनै पुरिएको छ ।'
पहिरो पन्छाउने काम बिहानैदेखि जारी रहेको उनले बताए ।
