बागलुङ — गएराति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातभर परेको पानीले पहिरो खस्दा मालढुंगा कुश्मीसेरा सडक पनि अवरुद्ध छ ।
सडक अवरुद्ध भएपछि करिडोरको यात्रा गर्ने र दक्षिण बागलुङ जाने सबै सवारी ठप्प भएका छन् । यो सडकले लामो दुरीमा पाल्पा र बुटवल हिँडेका र उताबाट बागलुङ आएका यात्रु बाटोमा अलपत्र छन् । त्यस्तै दैनिक दूध र तरकारी ढुवानी गरेर सदरमुकाम आउनुपर्ने दक्षिण बागलुङका सवारी पनि अलपत्र परेको मालढुंगा प्रहरी चौकीका सहायक निरीक्षक गंगाराम बिकले जानकारी दिए । उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
