१५ घर रहेको मुस्ताङको स्याङतामा टेलिकमको थ्री-जी सेवा सञ्चालन

म्याग्दीको धवलागिरि गाउँपालिका-२ को लुलाङमा पनि टु-जी र फोर-जी सेवा विस्तार

असार ५, २०८२

प्रकाश बराल

Telecom's 3-G service operation in Syangta, Mustang, where there are 15 houses

बागलुङ — नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको स्याङतामा ३ जी सेवा विस्तार गरेको छ । १५ घर मात्रै रहेको यो गाउँ ४ हजार ४ सय मिटरको उचाइमा छ । यहाँ अहिलेसम्म टेलिफोन सम्पर्क गर्न पनि कठिन थियो । 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ को यो गाउँमा ४५ जना मात्रै मतदाता रेका छन् । नयाँ गाउँ बसेपछि स्थानीयको मागलाई मध्यनजर गरेर तत्कालका लागि ३ जी सेवा विस्तार गरेको नेपाल टेलिकम, बागलुङका प्रमुख वरिष्ठ इन्जिनियर सन्तोष बरालले बताए । यो गाउँको बाटो भएर डोल्पा जाने सडक बनिरहेकाले बस्ती विस्तार हुन सक्ने भएकाले थप सेवा बिस्तार गर्दै जाने योजना पनि उनले सुनाए । 

यो बस्तीमा अहिलेसम्म बिद्युत सेवा पनि नभएकाले सोलारबाट टावरमा विद्युतीकरण गरेर सेवा सञ्चालनमा ल्याइएको हो । यो गाउँको सडक समेत वर्षमा ७ महिना मात्रै चल्छ । ५ महिना हिउँ जमेर यात्रा गर्न नसकिने भएपछि मानिस समेत बस्दैनन् । घिउला डाँडाबाट रिपिटर राखेर यहाँ पावर पुर्‍याइएको हो । यसअघि यहाँका मानिसले सामान्य टेलिफोन गर्नपनि पाएका थिएनन् ।

त्यस्तै म्याग्दीको धवलागिरि गाउँपालिका-२ को लुलाङमा पनि २जी र ४जी सेवा विस्तार भएको छ । यसअघि गुर्जामा ४जी सञ्चालन भएपछि बाँकी रहेको बीटीएस टावरको उपकरण लुलाङ लगेर जडान गरिएको थियो । खोरियो, मुन, लमसुङ, लुलाङ, मरेनी र जलजला क्षेत्रलाई लक्षित गरेर यहाँ बीटीएस टावर सञ्चालनमा ल्याइएको हो । यसअघि मुदीमा मात्र बीटीएस टावर रहेकामा त्यसले नटिपेपछि स्थानीयले पटकपटक माग गर्दै आएका थिए । अब भने फोन र इन्टरनेटका लागि पनि स्थानीयले सेवा पाउने भएका छन् । यहाँ भने नेपाल विद्युत् प्राधिकरणले पनि केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको छ । यो लाइन विस्तारपछि सेवा सञ्चालनमा आएको हो । 

स्थानीयले श्रमदान गरेर मुस्ताङको स्याङता र म्याग्दीको लुलाङमा पनि उपकरण राख्ने घर बनाएका छन् । यो सेवा विस्तारसँगै धौलागिरि क्षेत्रमा २जी सञ्चालन भएका १ सय ५४ टावर, ३जी सञ्चालन भएका १ सय २९ टावर र ४जी सञ्चालन भएका १ सय ३० वटा टावर पुगेको बरालले जानकारी दिए । 

यो बाहेक सेक्टर एक्स्टेन्सनमार्फत पनि केही स्थानमा सेवा सञ्चालनमा छ । बागलुङमा ६ वटा, मुस्ताङमा ६ र म्याग्दीमा ५ वटा सेक्टर एक्स्टेनसन छन् ।

प्रकाश बराल

Link copied successfully