काठमाडौँ — बागलुङको ढोरपाटन नगरपालिकाले देशलाई ऋणमुक्त बनाउन भन्दै पाँच लाख बजेट विनियोजन गरेको छ । 'देशमा २६ खर्बभन्दा बढी ऋण रहेको अवस्थामा ढोरपाटनले ऋणमुक्त देश बनाउने अभियानका लागि पाँच लाख बजेट विनियोजन गरेको हो,' नगर कार्यपालिका सदस्य नवीन शेरचनले बताए ।
कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले प्रस्तुत गरेको बजेटमा देशलाई ऋणमुक्त बनाउने अभियानका लागि ५ लाख विनियोजन गरिएको उल्लेख छ । ढोरपाटनले जस्तै सबैले आफ्नो दायित्वबोध गर्दै नेपाललाई ऋण बिनाको देश बनाउने अभियानमा हातेमालो गर्नुपर्ने शेरचनको भनाइ छ ।
बिहीबार १७ औँ नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवं बजेटमा नगरपालिकाले सरकारी तथा गैरसरकारी संस्थालाई ऋणमुक्त देश बनाउने अभियानमा हातेमालो गर्न अपिल गरिएको छ । कार्यपालिका सदस्य शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि उक्त अभियानलाई प्राथमिकता दिँदै सबैको साथ भएमा देश चाँडै ऋणमुक्त हुने उल्लेख छ ।
