पालुङटारको नीति तथा कार्यक्रम : भूमि बैंकमार्फत बाँझो जमिन उपयोगमा ल्याउने, वनको बाँदर वनैमा कार्यक्रमको निरन्तरता

‘लोक कल्याणकारी किसान कोष’ मार्फत रैथाने बालीहरु घैया धान, कोदो, मास, भटमास, तिल लगायतका बालीहरुको व्यवसायिक उत्पादनमा जोड दिइने

असार ४, २०८२

हरिराम उप्रेती

Policy and Program of Palungtar: Bringing barren land to use through land bank, continuation of program in forest monkey forest.

गोरखा — पालुङटार नगरपालिकाले भूमि बैंक अवधारणा लागु गरी बाँझो रहेको जमिनलाई भूमि बैंकमार्फत उपयोगमा ल्याउने प्रक्रियाको थालनी गर्ने नीति लिएको छ ।

मंगलबार नगर प्रमुख विवश चिन्तनले १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि क्षेत्रमा भूमिको उपयोग गर्ने कार्यलाई प्रोत्साहन गर्ने बताए । भूमि बैंकमा जग्गा उपलब्ध नगराउने तर ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्ने जग्गाधनीलाई भूमिकरमा २५ प्रतिशत जरिवाना लगाउने चिन्तनले बताए । सार्वजनिक र सरकारी जग्गा तथा सो जग्गामा निर्मित संरचनाहरुमा बहाल विटौरी कर लगाउने पनि उनले बताए ।

‘अहिलेका युवासँग उहिलेका कुरा’ कार्यक्रम अन्तर्गत हरेक वडामा ‘सिनियर सिटिजन क्लब’ गठन गरी जेष्ठय नागरिकको ज्ञान, सीप, अनुभवलाई नयाा पुस्ता साग जोड्न मासिक रुपमा कार्यक्रम संचालन गर्ने पनि नगरपालिकाले नीति लिएको छ । सडकको दाँयाबाँया हरियाली प्रवर्द्धन गरी हरित सहरको रुपमा विकास गर्न सडकको ‘राइट अफ वे’ भित्र वृक्षारोपण र सोको संरक्षण गर्न टोल विकास समिति परिचालन गर्ने, पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘लोक कल्याणकारी किसान कोष’ मार्फत रैथाने बालीहरु घैया धान, कोदो, मास, भटमास, तिल लगायतका बालीहरुको व्यवसायिक उत्पादनमा जोड दिने नीति पालुङ्टार नगरपालिकाले लिएको हो । ‘वनको बाँदर वनैमा’ नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको पनि उनले बताए । 

ऐतिहासिक तथा पर्यटकीय क्षेत्र आसपासका ठाउँमा मौलिक शैलीका नक्सा पास गरी घर बनाउने घरधनीलाई प्रोत्साहन स्वरुप नक्सापास शुल्कमा सहुलियत दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथीबाट सिक्ने र साथीलाई सिकाउने(सहपाठी सिकाइ) कार्यक्रमलाई व्यवस्थित रुपमा निरन्तरता दिने, विद्यालयको खाली जमिनमा फूलबारी बगैँचाको निर्माण गरी हराभरा बनाउने दिवा खाजा कार्यक्रममा पत्रु खाना निषेध गरी स्थानीय उत्पादनको प्रयोगमार्फत पोषणयुक्त खाजा व्यवस्था गरिने, एक वडा एक बाल उद्यान निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको सामूहिक दुर्घटना बिमा गर्ने पनि नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।

शव व्यवस्थपनका लागि नि:शुल्क शव वाहनको व्यवस्था, प्लास्टिकमुक्त नगरपालिका बनाउन नगरपालिका कार्यलय र अन्तर्गतका सबै निकायहरुमा प्लास्टिकका झोला र खाँदा प्रयोगलाई निषेध गर्ने पनि नीति लिएको चिन्तनले बताए ।

स्थानीय सिप र कच्चा पदार्थको प्रयोगद्वारा निर्माण हुने दुना टपरी, हस्तकला लगायतका सामग्रीहरुको उत्पादन तथा बजारीकरणका लागि कोसेली घर सञ्चालन गर्ने पनि उनले बताए । त्यस्तै, नगर क्षेत्रका अस्पताल, स्वास्थ्य संस्था, वडा कार्यालय, विद्यालय लगायतका सम्पूर्ण सरकारी कार्यालयहरुले स्थानीय स्तरमा उत्पादित सामग्रीहरु(हर्पिक, फिनेल, झोल साबुन, दुना टपरी) को अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउने पनि चिन्तनले बताए ।

मंगलबार नगर प्रमुख चिन्तनले नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभा सदस्यले नीति तथा कार्यक्रमका लागि छलफलका लागि समय माग गरेपछि आज (बुधबार) सम्म नगरसभा स्थगित गरिएको थियो ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully