नवलपरासी — मंगलबार रातिको बाढीले बगाएको बिनयी खोलामा डाइभर्सन निर्माण गरेर केहीबेर अघिदेखि दुम्कीवासमा यातायात सञ्चालन गराइएको छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार दुम्कीवासको बिनयी खोलमा डाइभर्सन निर्माण गरेर बुधबार साढे ६ बजेबाट एकतर्फी यातायात सुरु भएको हो ।
त्यहाँ अहिले बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडीमात्र चल्न दिइएको छ ।
दाउन्नेदेखि पश्चिम नवलपरासीको भूताहासम्म गाडीको जाम रहेका कारण पहिला पश्चिमबाट आउने गाडीलाई प्राथामिकता दिइएको उनले बताए । त्यसतर्फका आधा गाडी वारपार भइसकेपछि दुम्कीवास हुँदै पश्चिम बुटवलतर्फ जाने गाडी ओहोरदोहोर गराउने प्रहरीले जनाएको छ ।
दाउन्नेमा फसेका गाडी अझै निकाल्न कठिनाई भैरहेको छ । दाउन्नेको हिलोमा फसेका मालबहाक गाडी ननिकालेसम्म त्यहाँ यातायात सञ्चालन हुने अवस्था छैन । प्रहरी प्रमुख ढकालले दाउन्नेमा एक्स्काभेटर र डोजरले गाडी धकेलेर वारपार गराउन प्रहरी खटेको छ । दाउन्नेमा हिलो धेरै भएका कारण मालबहाक गाडी हिँडाउँदा फस्ने र लामो जाम हुने समस्या दिनहुँजसो छ ।
दाउन्नेमा फसेका गाडी निकाल्न नसक्दा यहाँ ४५ किलोमिटर लामो जाम रहेको छ । जाम विस्तारै घट्ने प्रहरीको भनाइ छ ।
