पहिरोका कारण बेसीसहर-चामे सडक अवरुद्ध

असार ४, २०८२

आश गुरुङ

Besisahar-Chame road blocked due to landslides

लमजुङ — हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेसीसहर-चामे सडकमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि गन्तव्यमा निस्किएका सवारी साधनहरु रोकिएका छन् । मानिससमेत वारपार हुन नसकेको स्थानीयले बताएका छन् ।

च्याम्चे र बुङ झरना वारीबीचको सडकमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय होटल व्यवसायी बाबुराम तामाङले बताए । उनका अनुसार मङ्गलबार मध्यरात १२ बजेतिर पहिरो खसेको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराले सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको बताए । प्रहरीका अनुसार बुधबार बिहान बुङझरना नजिकमा सडकमाथि बाट पहिरो खस्दा अवरोध भएको छ ।

पहिरो गएको ठाउँमा प्रहरी खटाएको र सडक आयोजनासँग समन्वय गरेर सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully