लमजुङ — पहिरोका कारण अवरुद्ध बेंसीसहर–चामे सडक खुलेको छ । यो सडक हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सडक हो ।
सडकको लमजुङ खण्डमा पर्ने मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेनजिकै माथिबाट पहिरो खसेपछि मंगलबार मध्यरातिदेखि सडक अवरुद्ध थियो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले सडक बन्द भएको खबर बिहानमात्रै प्राप्त भएको र त्यसपछि सडक कार्यालयसँगको समन्वयमा प्रहरीले पहिरो पन्छाएर बाटो खुलाएको बताए । उनका अनुसार अवरुद्ध सडक बुधबार मध्याह्नदेखि खुलेको छ ।
‘अवरुद्ध सडक प्रहरीले सडक कार्यालयसँग समन्वय गरी खुलाएको छ । अझै पनि उक्त ठाउँ जोखिममा रहेकाले सुरक्षितसाथ यात्रा गर्न अनुरोध गरिएको छ,’ उनले भने ।
स्थानीय होटल व्यवसायी बाबुराम तामाङले सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ गएको बताए । उनका अनुसार अहिले पहिरो खसेको ठाउँमा यसअघिका वर्षमा पनि पहिरो खसेको बताए । उक्त ठाउँ भिरालो रहेको र पहिरो रोकथामको कार्य गरिए पनि भिरालो ठाउँ भएकाले पहिरो खसेको उनले बताए ।
