नवलपरासी — गएराति देखिको वर्षाका कारण पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ ।
दुम्बीबास हुँदै बर्दघाट हिँडेका गाडी सोमबार राति साढे १२ बजेदेखि दाउन्नेमा रोकिएका छन् ।
निर्माणाधीन दाउन्ने सडक हिलाम्य भएका कारण मालवाहक गाडी वारपार गर्न नसक्दा राजमार्ग ठप्प भएको हो । सडक निर्माणको काम लिएको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा काममा ढिलाई गरेका कारण दाउन्नेमा हिँड्नै नसकिने अवस्था छ ।
दुम्कीबासबाट पश्चिम विश्वकर्मा मन्दिरसम्मको ३ किलोमिटर सडक काट्न ४ घण्टाभन्दा बढी समय लागेको यात्रुहरुको भनाइ छ ।
डाइभर्सन बगायो
जिल्ला प्रहरी कार्यालयका अनुसार पाल्पा र विनयी खोला आसपासमा भीषण वर्षाले विनयी खोलमा बनाइएको डाइभर्सन मंगलबार बिहान पौने ६ बजे बगाएको हो । कल्भर्टभन्दा दायाँबायाँको ग्राभेल सडक बगाएका कारण यातायात ठप्प भएको हो ।
साना र यात्रुवाहक बसलाई होङ्सी सिमेन्ट सर्दी हुँदै आउजाउ गराएको प्रहरीले जनाएको छ । ठूला र मालवाहक गाडी राजमार्गमा रोकिएका छन् ।
