रैथाने धान उत्पादन गर्नेलाई वडाले अनुदान दिने

असार ३, २०८२

प्रकाश बराल

The Ward will give subsidy to Raithane paddy producers

बागलुङ — बागलुङ नगरपालिका वडा नम्बर-१३ ले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ । रैथाने धान लगाएका किसानले उत्पादनको आधारमा प्रतिमुरी १ हजार रुपैयाँ अनुदान पाउने भएका छन् । वडा समितिले निर्णय गरेर तोकिएका ५ थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

आगामी आर्थिक वर्षको बजेटबाट उक्त अनुदान दिइने भएको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

वडा समितिले रैथाने जातमध्ये अनाती, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई उक्त अनुदान दिन लागेको हो । आगामी मंसिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेटसमेत विनियोजन गरिएको पौडेलले जानकारी दिए । ‘तोकिएको धान लगाएका किसानले असार–साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ,’ पौडेलले भने, ‘वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।’

एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आएमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकाले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । पहिलो चरणमा किसानलाई दिन वडाले ५० हजार रुपैयाँ विनियोजन गरेको हो ।

यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् । हाइब्रिडले रैथानेको बीउसमेत मासिने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । यो निर्णयलाई नगरपालिकाले पनि ‘गजबको’ भएको बताएको छ । ‘उत्पादन पनि बढाउने, रैथाने बाली पनि जोगाउने व्यवस्थामा साथ दिनुपर्छ,’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘किसान खुसी बन्ने वातावरण बनाउने प्रयासमा छौं ।’ धेरै उत्पादन गरेका किसानको धान नगरपालिकाले पनि बजारीकरणमा साथ दिने उनले बताए । 

वडा १३ ले १ सय ४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम ५ वटा सुन्तला र कागतीका बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखि नै रासायनिक मल ढुवानीमा प्रतिकेजी २ रुपैयाँ अनुदान दिँदै आएको छ । पशुपक्षीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका जेष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधोपचारको व्यवस्था पनि गराएको हो । 

त्यसबाहेक गर्भजाँच गर्न आउँदा हरेकपटक एक–एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ । पाँच वर्षदेखि वडाले पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ । किशोर–किशोरीका लागि पनि सामाजिक सञ्जालको दुरुपयोग रोक्न सचेतना अभियान सञ्चालन गरिएको पौडेलले जानकारी दिए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully