विनयी खोलाको डाइभर्सन बग्यो, दाउन्नेमा सडक चिप्लो हुँदा जाम

असार ३, २०८२

नवीन पौडेल

Diversion of Vinayi river washed away, road jammed at Daunne due to slippage

नवलपरासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा बाढीले डाइभर्सन बगाएको छ । विनयी खोलामा निर्माण गरिएको डाइभर्सन गएरातिको पानीले बगाएको हो ।

बाटो बन्द भएपछि यात्रुवाहक सवारीसाधन र साना सवारी होङ्सी गेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिएको छ । मालवाहक ठूला सवारीसाधन दुम्कीबास र अरुणखोला क्षेत्रमा नै रोकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए ।

वर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि सवारी उकालो उक्लन सकेका छैनन । जसका कारण दाउन्ने खण्डमा सवारीको लामो जाम लागेको छ । पुस २६ गते ओभरलोडको भारतीय लहरीको ठक्करबाट पुल भासिएपछि डाइभर्सनमार्फत यातायत सञ्चालन हुँदै आएको छ ।

सडक अवरुद्ध भएपछि  यात्रुवाहक सवारी र साना सवारीसाधनलाई  होङ्सी गेटबाट उत्तर सर्दी हुँदै करिब २५ किलोमिटर घुमाउरो वैकल्पिक मार्गबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully