गोरखा — विद्युतीय कसुर गरेको आरोपमा सहिद लखन गाउँपालिका–२ का १९ वर्षीय जिफ्रान थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व प्रेमिकालाई भिडियो कल गर्न लगाएर विभिन्न बहाना बनाई विश्वास दिलाई अश्लील हर्कत गर्न लगाई मोबाइल स्क्रिन रेकर्ड सुरक्षित राखी उनले भिडियो बनाएको खुलेको प्रहरीले जनाएको छ ।
उक्त भिडियो अन्य साथीझैँलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको हो । पीडितको चरित्र हत्या, अपमान गरी अमर्यादित कार्य गरेको जाहेरी/दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरी जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताएका छन् ।
उक्त कसुर ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३’ ले निषेध गरेको कार्य भएको पनि प्रहरीले जनाएको छ ।
