तनहुँ — बन्दीपुर गाउँपालिका–३ स्थित खुदी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ सेराटारका ५३ वर्षीय मंगल नेपाली रहेको जिल्ला प्रहरीले जनाएको छ ।
गत शनिबार घरमा कोही कसैलाई केही नभनी सम्पर्कविहीन भएका नेपालीलाई स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा खुदी खोलाको रह छेउमा उनले प्रयोग गर्ने कपडा र चप्पल भेटिएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । सोही स्थानमा खोजतलास गर्दा सोमबार खोलामा तैरिरहेको अवस्थामा शव फेला परेको उनले बताए ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट घटनास्थलमा शव जाँच मुचुल्क समेतको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षणपश्चात मृतकको आफन्तको जिम्मा लगाइएको बताएको छ । उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
