तनहुँ — भानु नगरपालिकाले उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको छ । नगरपालिकाभित्रका २० जना कृषकलाई नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’बाट सम्मान गरेको हो ।
पशुपालनतर्फ गाईभैंसी, बाख्रा, माछा, बंगुर, कुखुरा गरी पाँच विधामा सर्वोत्कृष्ट र उत्कृष्ट कृषकको छनोट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । उनका अनुसार सर्वोत्कृष्ट कृषकहरूलाई १० हजार र उत्कृष्ट कृषकलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संयुक्त रूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाइ कृषकहरुलाई सम्मान गरेका थिए । कृषकहरुलाई प्रोत्साहन गरी कृषि तथा पशुपालनमा आकर्षण बढाउनका लागि कृषकलाई सम्मान गरिएको नगर प्रमुख त्रिपाठीले बताए । उनले भने, ‘नेपाल कृषि प्रधान मुलुक भएपनि स्वदेशी उत्पादनले दैनिक आवश्यकता धान्न नसकेकोले किसानलाई उत्प्रेरणा दिइ स्वदेशलाई आत्मनिर्भर बन्न टेवा पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको हो ।’
सम्मानित किसान छेनुर्पु तामाङले सम्मान पाउँदा उत्साह जागेको बताइन् । किसान आफ्नो पेशाप्रति गर्व गर्नका लागि यस्ता सम्मानले मद्दत पुग्ने उनले बताए ।
