इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीको घरमा पीडितले लगाए ताला

जेष्ठ ३१, २०८२

प्रकाश बराल

The victim locked the house of Nepali, the founder president of Image Cooperative

बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको बागलुङ बजारस्थित ‘कर्मा कम्प्लेक्स’ रहेको घरमा पीडित संघर्ष समितिले तालाबन्दी गरेको छ ।

नेपाली सहकारी ठगी मुद्दामा जेलमा रहेको बेला बैंकको समेत मिलेमतोमा घर बिक्री गरिएको भन्दै इमेज पीडित संघर्ष समितिका पदाधिकारीले शनिबार घरमा ताला लगाएका हुन् । यो घरको भूइँ तलामा भाडामा विभिन्न पसलहरु संचालनमा थिए । ती पसलको सुरुवाती चरणको भाडा संघर्ष समितिले संकलन गरेको थियो । 

हाल उक्त कम्प्लेक्स बानपा-११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका छन् । हाल अमेरिका बस्ने क्षेत्री परिवारले उक्त भवनको भाडा लिन थालेको भन्दै तालाबन्दी गरेको बताए । ‘अर्ब पर्ने सम्पत्ति मिलेमतोमा २०/२२ करोडमा बिक्री गरिएकोले ताला लगाउन बाध्य भयौं,’ समितिका अध्यक्ष डिलबहादुर कार्कीले भने, ‘माफियाहरुले बैंकलाई पनि प्रभावमा पारेर घरजग्गा किनेका छन् ।’ उक्त घर क्षेत्री परिवारले २३ करोडमा खरिद गरेको स्थानीयले बताए । मिलेमतोमा बिक्री गरिएको भन्दै पीडितले गत साता दुई दिनसम्म राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा तालाबन्दी र धर्ना दिएका थिए ।

उता उच्च अदालत पोखरा, बागलुङ इजलासले भने राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा गत बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको छ । आदेशमा निजको घरजग्गाहरु लिलाम गर्ने कार्य नगर्नु/नगराउनु भन्ने उल्लेख छ । उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमाबली, २/७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो ।

आदेशमा असार ९ गते अन्तरिम आदेशका लागि छलफलका लागि विपक्षीलाई म्याद सूचना जारी गर्ने भनिएको छ । बागलुङ नगरपालिका-२ मा हरेको कित्ता नम्बर ४५७, ४५८ र ४५९मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने नेपाल राष्ट्र बैंकको नियम अनुसार घरजग्गा लिलाम भएको बताएका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully