लमजुङको सुन्दरबजारमा आगलागीबाट घर जल्यो

जेष्ठ ३१, २०८२

आश गुरुङ

A house was gutted by fire at Sundarbazar in Lamjung

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका-६, बरेटार बस्ने गोविन्द बोहोराको २ तले जस्ताले छाएको घरमा आगलागी भएको छ । लमजुङ क्याम्पस (कृषि र पशु विज्ञान अध्ययन संस्थान) चोकमा रहेको घरमा शुक्रबार मध्यरात ११ः५५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुन्दरबजार, इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएका प्रहरी, चण्डीप्रसाद गणका सैनिक, सशस्त्र प्रहरी आश्रित गुल्म रानीकुवाबाट खटिएको प्रहरी, स्थानीय साथै बेंसीसहरबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराका अनुसार आगो बस्तीमा फैलिन नदिन र फैलने जोखिमका कारण निर्माणमा प्रयोग हुने एक्स्काभेटर लोडर मेसिनले घर भत्काएर आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो ।

आगलागी राति सवा १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको र क्षतिको विवरण संकलन कार्य भइरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको भनी जानकारी आए पनि अनुसन्धानपछि विस्तृत विवरण खुल्ने प्रहरीको भनाइ छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully