पतञ्जलिले रोक्यो करिब २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

डेढ वर्षअघि पूर्वी नवलपरासीमा करिब २७ बिघा जग्गा खरिद गरेर पतञ्जलिले कन्या गुरुकुल सञ्चालनको योजना अघि बढाएको थियो

जेष्ठ ३०, २०८२

नारायण शर्मा

Patanjali has stopped the work of constructing a structure on about 27 bighas

नवलपरासी — भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेदिक कम्पनीले पूर्वी नवलपरासीको दुम्कौलीमा कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै सुरु गरेको संरचना निर्माणको काम रोकेको छ । डेढ वर्षअघि करिब २७ बिघा जग्गा खरिद गरेर पतञ्जलिले गुरुकुल सञ्चालनको योजना अघि बढाएको थियो ।

रामदेवका सहयोगी आचार्य बालकृष्ण नेतृत्वको टोली नै आएर नारायणी किनारमा रहेको मेघापार्कमा कन्या गुरुकुल सञ्चालन गर्ने योजना बनाएको थियो । जग्गा हेर्न आएका बालकृष्णले आफ्नो फेसबुकमा दुम्कौलीको मेघापार्क खरिद गरेर कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै तस्बिरसहित पोस्ट गरेका थिए ।

यो जग्गा देवचुली नगरपालिका–१ मा पर्छ । सिद्धकुमार एन्ड सन्स र सिद्धकुमार श्रेष्ठको नाममा दर्ता रहेको १७ बिघा जग्गा र त्यस आसपासको करिब १० बिघा ऐलानी जग्गाको संरचना पतञ्जलिले खरिद गरेको थियो ।

व्यवसायी श्रेष्ठले यहाँ  ११ वर्षदेखि भौतिक संरचना निर्माण गर्दै आएका थिए । उनले आफ्नो १७ बिघा र आसपासमा रहेको ऐलानी जग्गामा होटल, पार्टी प्यालेस र सभाहल पार्क निर्माण गरेका थिए । भिल्ला प्रकृतिको रिसोर्टमा करिब दुई हजार मानिस अट्ने सभाहल पनि छ । पतञ्जलिले खरिद गर्नुअघि सञ्चालनमा रहे पनि रिसोर्टका केही संरचना निर्माणाधीन अवस्थामा थिए । 

यो मेघापार्कमा कन्या गुरुकुल (वैदिक स्कुल) सञ्चालन गर्ने भन्दै बालकृष्णको निर्देशनअनुसार काम भइरहेको छ । यसका लागि पतञ्जलिले भारतको हरिद्वारबाटै इन्जिनियर झिकाएर  संरचना 'रिनोभेट' र रंगरोगनका काम गरिरहेको थियो । कन्या गुरुकुलका लागि काम बढाइए पनि वेलनेस सेन्टर सञ्चालनको समेत तयारी थालिएको स्रोतको भनाइ छ ।

नारायणी नदी किनारमा रहेको मेघापार्कनजिकै मध्यवर्ती क्षेत्र छ भने पूर्वदक्षिढमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ ।Patanjali has stopped the work of constructing a structure on about 27 bighas

जग्गा खरिदका लागि २५ करोडमा कागज भएको र १७ करोड पतञ्जलीले जग्गाधनी श्रेष्ठलाई बुझाइसकेको जानकारहरू बताउँछन् । देवचुली–१ का वडाध्यक्ष कृष्ण केसीले योगपीठले लिएको जानकारी पाएको र जग्गा रजिष्ट्रेसन पास गर्नका लागि आइनसकेको बताए । ‘जग्गाको कुराकानी भएर पास गर्नका लागि सिफारिस लिन आउने कुरा भएको थियो, तर अहिलेसम्म आउनुभएको छैन,’ उनले भने । 

पतञ्जलिका तर्फबाट यहाँ खटिएका व्यवस्थापक डोलराज गैरेले आउँदो दसैं आसपास गुरुकुल सुरुवात हुन सक्ने बताए । ‘दसैं आसपासमा आचार्य बालकृष्ण र रामदेव गुरुमध्ये एकजना आएर काम सुरु हुने सम्भावना छ,’ उनले भने । त्यतिबेला भारतीय चर्चित धर्मगुरु धिरेन्द्र शास्त्री पनि आउने कार्यक्रम रहेको उनको भनाइ छ । आचार्य बालकृष्णको निर्देशन र इन्जिनियरको डिजाइनअनुसार केही भौतिक संरचना निर्माणको क्रममा रहे पनि हाल रोकिएको गैरले बताए । 

 ‘५ बिघामा धान लगाएका छौं । तरकारी खेती पनि छ । घाँस काट्ने, घर कुर्ने मान्छे छौं । अरु धेरै जानकारी छैन,’ गैरेले भने, ‘पतञ्जली योगपीठ हरिद्वारबाट आउनुभएकी एकजना दिदी र मैले यहाँको संरचना कुरेर बसेका छौं । निर्माण कार्य हाल विभिन्न हल्लाका कारण रोकिएको छ ।' 

Patanjali has stopped the work of constructing a structure on about 27 bighas

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध केही दिनअघि मात्रै भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यसमा पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह पनि छन् । सिंहका नाममा नाममा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक लगायत देशका विभिन्न स्थानमा गैरकानुनी तरिकाले हदभन्दा बढी जग्गा खरिद तथा भोगचलन गरे/गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाइ छ । सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु गरिएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully