लमजुङमा जेठमै धान रोपाइँ सुरु

जेष्ठ ३०, २०८२

आश गुरुङ

Paddy planting started in May in Lamjung

लमजुङ — लमजुङको ग्रामीण भेगमा धान रोपाइँ सुरु भएको छ । असार नलाग्दै क्व्होलासोथार गाउँपालिका–४, भुजुङको घिम्चेफाँट र मर्स्याङ्दी गाउँपालिका–५, घेर्मुको घेर्मुफाँटमा किसानले धान रोपाइँ थालेका हुन् ।

सिँचाइ पुग्ने र पानी पनि पर्न थालेसँगै किसानले धान रोपाइँ थालेका हुन् । घेर्मु खानीगाउँमा कामसार्की गुरुङका अनुसार जेठ २७ गतेबाट घेर्मुफाँटमा धमाधम धान रोपाइँ भइरहेको हो ।

वडाअध्यक्ष घनश्याम घलेका अनुसार स्थानीयले घेर्मुफाँटमा स्थानीय र हाइब्रिड धान रोप्दै आएका छन् । मार्सी, जौधान, गोरीलगायत स्थानीय र शंकर जातका हाइब्रिड धान रोप्ने गरेको अध्यक्ष घलेले बताए । ‘यो ठाउँ अहिले चिसो छ । यहाँभन्दा माथि धान हुन पनि हुँदैन । घेर्मु फाँटमा धान रोप्न सुरु भएपछि बिस्तारै ताघ्रिङ, बाहुनडाँडातिर रोपाइँ सुरु हुन्छ,’ उनले भने ।

क्व्होलासोथार गाउँपालिका–४ का वडाअध्यक्ष नारायण गुरुङका अनुसार भुजुङको घिम्चे फाँटमा जेठ २४ गतेदेखि धान रोपाइँ सुरु भएको छ । स्थानीयले घिम्चे फाँटमा तामरे (ताक्मरे) धान रोप्दै आएका छन् । पछिल्लो समय दरमाली धान पनि रोप्दै आएका छन् । उक्त फाँटमा हालसम्म हाइब्रिड धान रोपिएको छैन ।

‘घिम्चेमा धान रोप्न सिँचाइ पुग्छ । हामी सुरुमा घिम्चे फाँटमा धान रोप्छौँ, त्यसपछि तल्हृयु, राम्चे, कौंदी, किज्गुँमा धान रोप्छौँ,’ उनले भने । उनका अनुसार मकै खेती नगर्ने घिम्चेमा सुरुमै धान खेती गरिन्छ । त्यसपछि असारमा मकै भाँचेर अन्य फाँटका खेतमा धान खेती गरिन्छ ।

भुजुङको घिम्चेमा लगाएको धान असोजमै थन्क्याइन्छ । त्यसपछि उक्त ठाउँमा गाइभैँसी गोठ ल्याएर राखिने उनले बताए । गोठहरू बिस्तारै अरू फाँट तथा स्वारामा सरेपछि गहुँ, जौलगायतको खेती गरिने अध्यक्ष गुरुङले बताए ।

ग्रामीण भेगमा धान रोपाइँ सुरु भएसँगै तल्लो क्षेत्रका फाँटहरूमा पनि धान रोपाइँको तयारी थालिएका छन् । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी सरोज थापाका अनुसार पानी पर्याप्त भएका ठाउँहरूमा धान रोपाइँ सुरु भएको अनौपचारिक जानकारी आएको छ । ‘अहिले मर्स्याङ्दीको घेर्मुफाँट र भुजुङमा धान रोपाइँ सुरु भएको खबर छ । हामीले हरेक स्थानीय तहका कृषि शाखालाई यसबारेको जानकारी दिन भनेका छौँ । केही दिनमा प्राप्त हुन्छ,’ उनले भने ।

उनका अनुसार धान रोपाइँ सुरु भएका ठाउँमा अरू ठाउँमा भन्दा बिउ पनि १५–२० दिन अगावै राखिन्छ । ‘ग्रामीण भेग जहाँ अलि चिस्यान छ, सिँचाइ पनि पुगेको छ, त्यस्ता ठाउँमा रोपाइँ कार्य अलि छिटो भएको देखियो,’ उनले भने ।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा कूल ६१ हजार ८ सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार २ सय ९९ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । गत आर्थिक वर्षमा ११ हजार ८ सय ७५ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएकोमा ३९ हजार ७ सय ८१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

लमजुङका राइनासटार, धमिलिकवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेंसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायतका ठूला फाँटहरूमा बढी धान लगाइने गरिएको कृषि ज्ञान केन्द्र प्रमुख वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले बताए ।

लमजुङमा किसानले रामधान, सुनौलो सुगन्ध, सुख्खा २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायत उन्नत जातको धान लगाउँदै आएका छन् । यस्तै, लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान पनि लगाउँदै आएका छन् । किसानहरूले पानी कम हुने ठाउँमा सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully