बागलुङ जिप दुर्घटना : २ को मृत्यु, १४ जना घाइते [अपडेट]

जेष्ठ ३०, २०८२

प्रकाश बराल

Baglung Jeep Accident: 2 killed, 14 injured [Update]

बागलुङ — बुतिवाङ बजारदेखि यात्रु बोकेर गाउँ गैरहेको पिकअप जिप सडकबाट खेतमा खस्दा २ जनाको मृत्यु भएको छ भने गाडीमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना गम्भीर छन् ।

मृत्यु हुनेमा ढोरपाटन नगरपालिका-२ की ७५ वर्षीया भिमकुमारी बुढा र निसीखोला गाउँपालिका-१का ७३ वर्षीय नरबहादुर कार्की छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको थियो ।

ढोरपाटन-५ को बतासेडाँडामा शुक्रबार अपराह्न साढे ५ बजेतिर जिप खसेको प्रहरीले बतायो । लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । गाडीमा १६ जना सवार रहेको जनाइएको छ । 

घटनामा ढोरपाटन-२ का २७ वर्षीय चालक गोविन्द थापा, १८ वर्षीय लुम्बिनी महत र २३ वर्षीय इन्द्रा कुँवर गम्भीर घाइते छन् । सोही घटनामा स्थानीय २९ वर्षीय निरमाया खत्री, ३८ वर्षीय देवी परियार, ५३ वर्षीय दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय बियानो बुढा, ५ वर्षीय बिनय बुढा, ७५ वर्षीय मनकुमारी थापा, २१ वर्षीय टिकाकुमारी कुँवर पनि घाइते छन् । वडा नं ५ की ३५ वर्षीय डल्ली बिक, ३० वर्षीय टनमाया कुँवर र वडा नं १ का ११ वर्षीय शिसिर कार्की समेत घाइते छन् । 

घाइतेमध्ये ८ जनालाई पोखरास्थित मणीपाल शिक्षण अस्पताल र ५ जनालाई पाल्पा मिसन अस्पताल रिफर गरिएको छ । सामान्य घाइते निरमाया खत्रीको भने बुर्तीवाङमा उपचार भैरहेको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा गएको १५ जनाको टोलीले घटनास्थलको उद्धार गरेको हो । दुर्घटना स्थल सदरमुकामदेखि ९७ किमि पश्चिममा पर्छ । 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully