बागलुङ — जन्मेदेखि २३ महिनाभित्रका ६ हजार ६५० बालबालिकाले आवश्यक सबै खोप पाएपछि शुक्रबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका ३ हजार ५५२ बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएका छन् ।
त्यसबाहेक १६ देखि २३ महिनासम्मका ३ हजार ९८ बालबालिकाले पनि आवश्यक खोप पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको हो ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरे। मन्त्री पाठकसहित स्वास्थ्य सचिव विश्वबन्धु बगालेले जिल्ला खोप समन्वय समितिलाई दिगोपनाको प्रमाणपत्रसमेत प्रदान गरे ।
एक महिनादेखि प्रदेश स्वास्थ्य कार्यालय बागलुङको अग्रसरतामा सबै पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि काम भैरहेको थियो । त्यसका लागि स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र पालिकाका जनप्रतिनिधिदेखि स्वास्थ्य शाखाका सबै कर्मचारी समेत निरन्तर घरदैलो अभियानमा सहभागी थिए। बगालेका अनुसार गण्डकी प्रदेशमा बागलुङ तेस्रो पूर्ण खोपयुक्त जिल्ला हो ।
यो खोप अभियानले आमा र बालबालिकाको स्वास्थ्यमा ठूलो महत्व राख्ने स्वास्थ्य मन्त्री पाठकले बताए । ‘खोप अभियानले पूर्णता पाएसँगै हरेक अस्पतालले पनि दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी पाउनुपर्छ भनेर व्यवस्थापन गर्न लागिएको छ,’ मन्त्री पाठकले भने, ‘सबै उपकरण र सेवा युक्त अस्पताल बनाएर नागरिकको पूर्ण स्वास्थ्यको पनि ग्यारेन्टी गरिनेछ ।’
सबै नागरिकलाई स्वास्थ्य बिमामा ल्याउने, नयाँ रोगको रोकथामका लागि पहल गर्ने, नसर्ने रोगबाट आम नागरिकलाई सचेत बनाउनेजस्ता काम पनि प्रभावकारी बनाइने उनले बताए । साथै दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता बढाएर भए पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने उनको भनाइ छ ।
विशेषगरी जन्मेपछि पाउनुपर्ने बिसिजी, दादुरा, हेपाटाइटिस, जापानी इन्सेफ्लाइटिस, रुवेला, झाडापखाला, पोलियो, टाइफाइड लगायतका रोगविरुद्ध १३ प्रकारका खोपको मात्रा पुगेपछि मात्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने प्रावधान छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाका अनुसार बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिनाका ६६३ र १६ देखि २५ महिनासम्मका ४४९ जनाले खोप लगाएका छन्। त्यस्तै गलकोट नगरपालिकामा ७५४ जना, १ हजार ६२ जना बालबालिकाले खोप लगाएका छन् भने जैमिनी नगरपालिकाका ५३९ बालबालिकाले खोप पाएका छन् ।
ताराखोला गाउँपालिकाका १९३, बरेङ गाउँपालिकामा ६४५, तमानखोला गाउँपालिकामा २७७, काठेखोला गाउँपालिकामा ४३४, निसीखोला गाउँपालिकामा ८२८ र बडिगाड गाउँपालिकामा ७९५ जना बालबालिकाले पूर्ण खोप पाएको तथ्याङ्क छ । पूर्ण खोपका लागि गत माघ १ गतेदेखि खोजपड्तालको काम भैरहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
