यौन दुर्व्यवहारमा फसाउने भन्दै रकम मागेको आरोपमा पोखरामा तीनजना पक्राउ

जेष्ठ २९, २०८२

दीपक परियार

Three people were arrested in Pokhara on the charge of asking for money to lure them into sexual abuse

पोखरा — पोखरामा एक सुनचाँदी पसलका सञ्चालकलाई झूटो यौन दुर्व्यवहारको आरोप लगाई ५० लाख माग्ने योजना बनाएका तीनजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न तीनै जनालाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी कार्यालयले जनाएको छ । घटनाको सुरुआत पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा कार्यरत महिलाबाट भएको थियो । 

प्रहरीले जनाएअनुसार ती महिलाले मोरङ र संखुवासभामा बस्ने आफ्ना दुईजना पुरुष साथीलाई बोलाई मिलेमतोमा एक योजनाबद्ध षड्यन्त्र गरेका थिए । उनीहरूले पसल सञ्चालकको श्रीमतीलाई लेकसाइडस्थित होटलमा एक सातासम्म राखी ‘तपाईंले जिन्दगीभर चल्ने धनसम्पत्ति, बस्नका लागि घर र व्यवसाय सञ्चालनको व्यवस्था गरिदिनुहोस्, नभए तपाईंको श्रीमानमाथि यौन दुर्व्यवहार लगायतका मुद्दा लगाएर सडाइदिन्छौं’ भन्दै धम्की दिएका थिए ।

उक्त धम्की र रकम असुली प्रयासको जानकारी पाएपछि कास्की प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५, टुटुंगा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर बताउने ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ बस्ने ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन् ।

पक्राउ परेकासँगै प्रहरीले घटनासँग सम्बन्धित प्रमाणका रूपमा तीन थान मोबाइल, ‘बार्गेनिङ’ गरिरहेको अडियो क्लिप भएको एक थान पेनड्राइभ तथा अन्य कागजातसमेत बरामद गरेको छ । प्रहरीले यसलाई संगठित रूपमा जबर्जस्ती रकम असुल्ने प्रयास (एक्सटर्सन) र आपराधिक विश्वासघातसम्बन्धी अपराधको रूपमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न सबै प्रमाणसहित मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानलाई तीव्र पारिएको घटनालाई गम्भीर रुपमा लिई थप तथ्य संकलन गर्ने कार्य जारी राखेको उनले बताए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully